एजेन्सी । लागुपदार्थ मामिलामा पक्राउ परेका बलिउड अभिनेता शाहरूख खानका छोरा आर्यनले यो साता आफ्ना बुवाबाट चार हजार पाँच सय भारू नगद पाएका छन् । भारतीय सञ्चारमाध्यम एनडिटिभीका अनुसार हिरासतमा रहेकालाई उनीहरूको घरबाट उपलब्ध गराउन सक्ने सबैभन्दा धेरै रकम यति नै हो ।
यो रकमबाट आर्यनले खाना र अन्य सामानहरू मगाउन सक्नेछन् । आर्यन हाल मुम्बईको अर्थर रोड जेलमा छन् । उनको सुनुवाइ अक्टोबर २० तारिकमा मात्र हुनेछ । एनडिटिभीका अनुसार आर्यनलाई उनको परिवारसँग भिडिओ कल गर्न पनि दिइएको छ ।
हिरासतमा रहेकाले आफ्ना परिवारसँग साताको दुई पटक भिडिओ कलमा कुराकानी गर्न पाउने नियम कोरोनाका कारण लागू गरिएको थियो । आर्यनले भने हालसम्म एक पटक मात्र आफ्नो परिवारसँग कुराकानी गरेका पनि एनडिटिभीले लेखेको छ ।
बुवा शाहरूखले पठाइदिएको पैसा आर्यनले सोमबार पाएको र भिडिओ कल भने शुक्रबार गरेको बताइएको छ । अदालतको आदेश नआउन्जेल आर्यनलाई घर वा बाहिरको खाना दिइने छैन ।
२३ वर्षीय आर्यनको जमानतका लागि गरिएको अपील चौथो पटक अस्वीकृत भएपछि उनलाई जेलमै पठाइएको थियो । आर्यनले झन्डै दुई साता जेलमा बिताइसकेका छन् । बुवा शाहरूख र आमा गौरीले हालसम्म आर्यनको पक्राउ बारे कुनै प्रतिक्रिया दिएका छैनन् ।




