एजेन्सी । नारकोटिक्स कन्ट्रोल ब्यूरोले बिहिबार शाहरूख खानसँगै अनन्या पाण्डेको घरमा पनि छापा मारेकाे छ । एनसीबीले बिहिबार अपरान्ह २ बजे अनन्यालाई सोधपुछका लागि समेत बोलाएको छ । शाहरुख अघि एनसीबी अनन्याको घरमा छापामारीका लागि पुगेको थियो । अनन्याको घर मुम्बईको बान्द्रामा छ । स्मरण रहोस्, अनन्या पाण्डे बलिउड नायक चंकी पाण्डेकी छोरी हुन् ।
रिपोर्टका अनुसार छापामारीका क्रममा शाहरुख घरमा नै थिए । बुधबार ड्रग्स केसमा याचिका खारेज भएपछि जेलमा बन्द आर्यन खानलाई भेट्न उनका पिता शाहरुख खान मुम्बईको आर्थर रोड जेल पुगेको थिए । बुवा–छोराबीच करिब १८ मिनेटसम्म भेटघाट भयो । यद्यपि, जेल प्रशासनको नियम अनुसार कुनै पनि कैदीलाई १० मिनेट मात्रै भेट्न सकिन्छ ।
रिपोर्टका अनुसार क्रुज ड्रग्स पार्टी केसमा आर्यन खानसँग बलिउडकी एक उदाउँदो नायिकाको च्याट पनि एनसीबीले भेटेको छ । एनसीबीले पाएको आर्यनका केही च्याटमा उनी यी नायिकासँग ड्रग्सको विषयमा चर्चा गरिरहेको देखिएका छन् ।




