एजेन्सी । बलिउड अभिनेता शाहरुख खान यतिबेला चर्चामा छन् । उनको छोरा आर्यान खान ड्रग्स केसमा आर्थर रोड जेलमा छन् । सामाजिक सञ्जालमा आर्यान पक्राउलाई लिएर विभिन्न प्रतिक्रियाहरु आइरहेका छन् । धेरैले शाहरुखको छोरा भएका कारण आर्यानले यस्तो स्थितिबाट गुज्रिनु परेको बताइहरेका छन् ।
सामाजिक सञ्जालमा शाहरुखको एउटा पुरानो अन्तर्वार्ता पनि भाइरल भइरहेको छ, जसमा यी कुराहरु उल्लेख गरिएको छ । भिडियो क्लिपमा शाहरुखले भनेका छन्, ‘कहिँ कतै मेरो नामले मेरो बच्चाको जिन्दगी बिगार्न सक्छ र म यो चाहन्नँ ।’
२००८ को यो भिडियो जर्मन टिभी च्यानलसँग शाहरुखले दिएको एक अन्तर्वाताको सानो अंशा हो । यसमा उनले आफ्नो प्रसिद्धिले आफ्ना बच्चाहरुमा नराम्रो असर पर्न सक्ने कुराहरु उल्लेख गरेका छन् । उनले भनेका छन्, ‘जिन्दगीमा मलाई परिवारलाई लिएर डर छ, विशेषगरी बच्चालाई लिएर । म चाहन्छु कि उनीहरु मेरो छायाँमा नपरुन् । म उनीहरु मेरो प्रसिद्धिसँग लडून् र आफ्नो पिताभन्दा आफू राम्रो भएको सोचून् भन्ने चाहन्छु । उनीहरुको मनमा – म शाहरुखको छोरा हुँ र मलाई सबै चीज सजिलै मिलोस् भन्ने कहिल्यै नआओस् भन्ने चाहन्छु ।’
साथै शाहरुखले आफ्ना सन्तानहरु ‘शाहरुखका छोराछोरी’ रुपमा नचिनिउन् भन्ने चाहेको पनि बताए । उनी भन्छन्, ‘उनीहरु आफ्नो पहिचान आफैँ बनाउन् । राम्रो काम गरुन्, प्रसिद्धि कमाउन् ।’
आर्यानलाई २ अक्टोबरमा एनसीबीले क्रूज सिपबाट पक्राउ गरेको थियो । पक्राउपछि उनी आर्थर रोड जेलमा छन् । २ अक्टोबरमा आर्यान पक्राउ पर्दै गर्दा शाहरुख विदेशमा चलचित्रको सूटिङ गरिरहेका थिए । २१ अक्टोबरमा उनी आर्यानलाई भेट्न जेल पुगेका थिए ।




