नयाँ दिल्ली । अभिनेता सुनिल शेट्टी र अभिनेत्री करिश्मा कपूर हालै ‘इन्डियाज बेस्ट डान्सर – सिजन २’ मा विशेष अतिथि जजको रूपमा पुगेका थिए । कार्यक्रममा दुबै जनाले प्रतियोगीहरुको नृत्य प्रस्तुतिलाई मन पराएका थिए र आफुसँग सम्बन्धित केहि किस्सा पनि सुनाए ।
सोही क्रममा सुनिलले आफ्नो जीवन र बुवाको संघर्षको बारेमा कुरा गरे र भावुक भए । सुनिलका अनुसार उनका बुबा वीरप्पा शेट्टी सफाइकर्मी थिए । यसबारे कुरा गर्दै सुनिलले भने, ‘मेरो बुबा ९ वर्षको उमेरमा मुम्बई आउनुभयो । जब कसैले मलाई मेरो हिरो को हो भनेर सोध्छ, म मेरो बुबाको नाम लिन्छु । मलाई मेरो बुबाप्रति गर्व छ । उहाँले जिउनुभएको अविश्वसनीय जीवनले मलाई बनाउँछ । मेरो बुबा एक सफाई कर्मचारी हुनुहुन्थ्यो तर उहाँले आफ्नो काममा कहिल्यै लाज महसुस गर्नुभएन र बुबाले मलाई पनि यही सिकाउनुभयो ।’
सुनीलले थप भने, ‘मेरो बुबाले आफ्नो जीविकोपार्जनका लागि जे गरे त्यसमा कहिल्यै लाज मान्नु भएन । अचम्मको कुरा के छ भने, जहाँ उहाँले सफाइकर्मीकाे रूपमा काम गर्नुभएकाे थियाे पछि उहाँ त्यहाँकाे म्यानेजर बन्नुभयाे । पछि सबै भवनको मालिक पनि बन्नुभयाे । उहाँले मलाई जहिले पनि मैले जुन काम गर्छु त्यसमा गर्व गर्न र पूरा हृदयले गर्न सिकाउनुभयो ।’
सुनीलका बुवाको बारेमा कुरा गर्दै करिश्मा भन्छिन्, ‘मैले सुनिल शेट्टीका बुबालाई वर्षौंअघि भेटेको थिएँ, जब म सुनिलसँग काम गरिरहेको थिएँ । सुनिलका बुबा सेटमा आएर छोराको बारेमा सोध्ने गर्नुहुन्थ्याे । छाेराकाे काममा निकै गर्व गर्नुहुन्थ्याे ।’




