एजेन्सी । कट्रिना कैफ र विक्की कौशलको बिहेको खबर अहिले चर्चामा छ । डिसेम्बरको पहिलो साता राजस्थानमा उनको शाही विवाह हुने चर्चा छ । तर अहिले यो जोडीले यही महिनाको अर्को साता मुम्बईमा विवाह गर्ने बताइएको छ ।
कट्रिना र विक्कीले पक्कै राजस्थानमा विवाह गर्ने छन्, तर त्यसअघि उनीहरूले मुम्बईमा कोर्ट विवाह गर्नेछन् । बलिउड लाइफले स्रोतलाई उद्धृत गर्दै आफ्नो रिपोर्टमा यो ठूलो अपडेट दिएको छ । जसका अनुसार शाही विवाहका लागि जयपुर जानुअघि जोडीले अर्को हप्ता मुम्बईमा कोर्ट म्यारिज गर्ने कट्रिनासँग सम्बन्धित स्रोतले बताएको छ । राजस्थानमा दुईवटा विवाह समारोहको योजना बनाइएको छ । विक्की-कट्रिना सबै कुरा गोप्य राख्न चाहन्छन्, त्यसैले विवाहको कुरा गर्नबाट टाढै छन् । बिस्तारै धेरैलाई लुकाएर बिहेको तयारी गरिरहेका छन् ।
इन्डिया टुडेलाई प्राप्त जानकारी अनुसार बिवाह स्थलमा पाहुनाले माेबाइल फाेन लैजान पाउने छैनन् । विवाहस्थलको कुनै पनि फोटो वा भिडियो सामाजिक सञ्जालमा लिक हुन नदिन कार्यक्रम व्यवस्थापन निकायलाई कडा निर्देशन पनि दिइएको छ ।
कट्रिना र विक्की विवाहको तयारीमा व्यस्त छन् र गोपनीयता र सुरक्षाको विशेष ख्याल राख्ने एक विशेष टोली गठन गरेका छन् । कार्यक्रम स्थलमा मोबाइल फोन जम्मा हुने क्षेत्र बनाइएको बताइएको छ । बलिउड सेलिब्रेटीहरू बाहेक दुबै पक्षबाट परिवारका सबै सदस्यहरू सहभागी हुनेछन् । यस्तो अवस्थामा परिवारका सदस्यलाई पनि कार्यक्रम स्थलमा मोबाइल बोक्न नपाउने नियम लगाइएको छ ।
सेलिब्रेटीहरूले आफ्नो विवाहमा मोबाइल फोन प्रयोग नगर्ने कुरा गरेको यो पहिलो पटक भने होइन । यसअघि प्रियंका चोपडा र निक जोनसले पनि यही नियम अपनाएका थिए । दीपिका पादुकोण र रणवीर सिंहको विवाहमा पनि मोबाइल फोन लैजान दिइएकाे थिएन ।




