एजेन्सी । ग्लेन म्याक्सवेलले अस्ट्रेलियन बिगबासमा सर्वाधिक धेरै स्कोर गर्ने रेकर्ड बनाएका छन् । उनले नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित होबर्ट हुरिकेन्सविरुद्ध १५४ रनको अविजित इनिङ खेलेका हुन् ।
उनले ६४ बलमा १५४ रनको अविजित इनिङ खेले । जहाँ उनी बिगबासमा सर्वाधिक रन बनाउने खेलाडीका रूपमा स्थापित समेत भए । समग्रमा उनको यो टी-२० मा नवौँ ठूलो स्कोर हो ।
उनले ४ छक्का र २२ चौका प्रहार गरे । म्याक्सवेलको सानदार इनिङमा २७३ रनको विशाल स्कोर बनाउन मेलबर्न स्टार सफल भयो । मेलबर्नले केवल २ विकेट गुमाएर २७३ रन बनाएको थियो । जुन टी-२० फ्रेन्चाइजको सर्वाधिक ठूलो स्कोर हो ।
उनी बाहेक मार्कुस स्टोइनिसले समेत विस्फोटक इनिङ खेले । उनले ३१ बलमा ७५ रन बनाए । नेपाली लेग स्पिनर सन्दीप लामिछाने जारी सिजनमा सर्वाधिक महँगा रहे । उनी ४ ओभरमा ५२ रन खर्चिएर विकेटविहीन बने ।
खेलमा सबै बलर महँगा सावित भएका थिए । जवाफमा हुरिकेन्सले १६७ रन मात्र जोडेपछि स्टार्सले १०६ रनले जित हासिल गरेको थियो । खेलका उत्कृष्ट खेलाडी म्याक्सवेल चुनिए ।




