एजेन्सी । पेनाल्टी सुट आउटमा इजिप्टलाई पराजित गर्दै सेनेगलले पहिलो पटक अफ्रिका कप अफ नेसन्सको उपाधि जितेको छ । आइतबार राति क्यामरुनमा भएको फाइनल खेलमा निर्धारित समय र अतिरिक्त समय गोलरहीत बराबरीमा सकिएपछि खेलको छिनोफानो पेनाल्टी सुट आउटमा भएको थियो ।
मानेले निर्णायक पेनाल्टी प्रहार गर्दा सेनेगल ४-२ ले विजयी भयो । यसअघि खेलको सातौं मिनेटमा लिभरपुलका फरवार्ड साडियो मानेले पाएको पेनाल्टी सदुपयोग गर्न नसक्दा सेनेगलले अग्रता बनाउने अवसर गुमायो । सेनेगलले तेस्रोपटक फाइनल खेल्दै पहिलो पटक च्याम्पियन बनेको हो ।
यता, सेनेगलसँगको हारसँगै इजिप्टको आठौं पटक च्याम्पियन बन्ने सपना अधुरै रह्यो । ९ जनवरीदेखि क्यामरुनमा सुरु भएको अफ्रिका कप अफ नेसन्समा २४ टोलीको सहभागिता रहेको थियो । हरेक टोलीका शीर्ष दुई टोलीसँगै उत्कृष्ट तेस्रो हुने चार टोलीले नकआउट चरणमा स्थान बनाएको थियो ।




