काठमाडौं । नेपाली क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा ५० विकेटको कोशेढुंगा पार गरेका छन् । उनी टी-२० मा ५० विकेट लिने पहिलो नेपाली बलर समेत बनेका छन् ।
चारदेशीय शृंखला अन्तर्गत आयरल्याण्डसँगको खेलमा १ विकेट लिएसँगै उनले ५० विकेट पूरा गरेका हुन् । उनले जर्ज डकरेललाई २८ रनको स्कोरमा आउट गरेसँगै ५० विकेट पूरा गरेका हुन् ।
सन् २०१८ मा विश्व ११ का लागि वेष्टइण्डिजविरुद्ध सन्दीपले पहिलो टी-२० अन्तर्राष्ट्रिय क्रिकेट खेलेका थिए । सन् २०१९ को जनवरी ३१ मा युएईसँगको शृंखलाका क्रममा उनले २ विकेट लिएका थिए । त्यसयता ३ वर्षको अन्तरमा उनले ५० विकेट पूरा गरेका हुन् ।
नेपाली खेलाडीका रुपमा विश्वभरका लगभग सबै फ्रेन्चाइज प्रतियोगिता खेलेका सन्दीपले टी-२० क्रिकेटमा १५४ विकेट लिइसकेका छन् भने एकदिवशीय अन्तर्राष्ट्रियमा ४१ विकेट लिइसकेका छन् ।




