एजेन्सी । विराट कोहलीले भारतीय टीमका लागि तीनै प्रारूपको क्रिकेटमा कप्तानी छोडिसकेका छन् । उनको ठाउँमा रोहित शर्माले एक दिवसीय र टी-२० क्रिकेटमा कप्तानी गरिरहेका छन् । कोहलीले एक्कासी टेस्ट टोलीको कप्तानी छोडेपछि भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) ले टेस्टको नयाँ कप्तान कसलाई बनाउने भन्ने छलफलमा जुटेको छ ।
कोहलीको ठाउँमा नयाँ टेस्ट कप्तानको रूपमा ऋषभ पन्त फिट रहेको भारतका पूर्व कप्तान सुनिल गावस्कर बताउँछन् । उनी भन्छन्, ‘पन्तबाट म पछिल्लो समय निकै प्रभावित भएको छु । र, अब उनलाई टेस्ट टोलीको कप्तानी दिनुपर्छ ।’ पन्त एक मात्र स्टार खेलाडी हुन् जो नयाँ टेस्ट कप्तान बन्ने दावेदार छन् ।
पन्तले केप टाउनको कठिन पिचमा गत महिना दक्षिण अफ्रिकाविरुद्ध खेलेको टेस्ट सिरिजमा उत्कृष्ट प्रदर्शन गरेका थिए । दक्षिण अफ्रिकाविरुद्धको टेष्ट सिरिजमा पन्तको आक्रामक खेल देखिएको थियो । पन्तको यो स्टाइललाई फ्यानहरूले मन पराएपछि उनलाई कप्तान बनाउने माग उठेको थियो ।
पन्त किन टेस्ट कप्तान बन्नुपर्छ ?
रोहित शर्मा अहिले ३४ वर्षका भइसकेका छन् । यदि बीसीसीआईले भविष्यको बारेमा सोचिरहेको छ भने शर्मालाई टेस्ट कप्तान बनाउन चाँहदैन् । उनी करियरको अन्ततिर आइपुगेका छन् । यस्तो अवस्थामा २४ वर्षीय पन्तले टेस्ट क्रिकेटको कप्तानी पाउन सक्छन् ।
कोहलीले २७ वर्षको उमेरमा टेष्टको कप्तानी पाएका थिए भने २९ वर्षको उमेरमा एकदिवसीय र टी–२० को कप्तानी पाएका थिए । बीसीसीआईको लक्ष्य पन्तलाई नयाँ कप्तानको रुपमा तयार गर्ने हो । यदि भारतले नयाँ कप्तान बनाउने हो भने पन्त राम्रो विकल्प हुन् । उनले राम्रो प्रदर्शन गरिरहेका छन् । पन्तले वानडे र टी–२० खेलमा समेत राम्रो प्रदर्शन गरिरहेका छन् ।




