काठमाडौं । अभिनेता राजेश हमाल अमेरिका भ्रमण सकेर आएलगतै तीज गीतको भिडिओमा व्यस्त भएका छन् । बुधबार काठमाडौं फर्किएको भोलिपल्टै उनी तीज गीतको छायांकनमा व्यस्त भएका हुन् ।
बिहिबार उनलाई फिचर्ड गरिएको तीज गीतको छायांकन सकिएको छ । डेभिड शंकर र भावना आचार्यको युगल स्वर समावेश गीतमा हमालले महिला कलाकारसँगै तीज गीतमा छमछमी नाचेका छन् ।
बिहिबार काठमाडौंको धर्मस्थलीमा यो गीतको छायांकन गरिएको छ । अहिले हमाललाई कुनै फिल्मको अफर आएको छैन । यद्यपि उनलाई तीजको म्युजिक भिडिओमा फर्काउने काम चाहिँ एक म्युजिक भिडिओले गरेको हो ।
गीतमा हमालले मोडल मञ्जु थापासँगै कम्मर मर्काएका छन् । राजेश हमालले यसअघि सुनिता दुलालको ‘हजुरैको मन’, विष्णु माझीको ‘मेरो भेना हङकङको लाहुरे’ लगायतका तीज गीतमा अभिनय गरेका थिए ।




