काठमाडौं । पूर्वमिस नेपाल श्रृंखला खतिवडा बेला बेला चर्चामा आइरहन्छिन् । उनी सधैंजसो मिडिया लाइमलाइटमा हुने गर्छिन् । अमेरिकामा पढाइ सकेर हालै नेपाल फर्किएकी श्रृंखला पछिल्लो समय सम्बन्धलाई लिएर चर्चामा छिन् ।
प्रायः सामाजिक सञ्जालमा आउने चर्चालाई लिएर मौन रहन श्रृंखला यस पटक भने आक्रोशसँगै गुनासो सुनाएकी छन् । सञ्जय गुप्ताको पछिल्लो पडकास्ट एपिसोडमा उनले आफूलाई लिएर सामाजिक सञ्जालमा हुने गसिप र आलोचना बारे बोलेकी हुन् ।
उनले आफ्ना बारे गरिने गसिप प्रति आक्रोश जनाएकी छन् । उनी भन्छिन् ‘मबाट रियाक्सन खोज्या हो कि । यति चिढ्याउँदा पनि यो बोल्दिन भन्या हो कि । डेढ वर्ष भइसक्यो । कति चिढ्याइराख्या हो, अझै चिढ्याएका छन्, चिढ्याएका छन् ।’
शृंखलाले मान्छेहरुलाई जवाफ दिएर कहिल्यै नसकिने र आफूले उत्तर नदिने पनि बताइन् । ‘के खोजिराख्या छन् थाहा छैन । तर त्यसको उत्तर मसँग छैन, दिंदा पनि दिन्न । कारण नै छैन । व्यक्तिगत जीवन कति खोतल्न खोज्या के ? म पब्लिक पर्सन हो थाहा छ तर म मिस नेपाल हुन्छु भनेर साइन गर्दाखेरि लाइफको सबै कुरा खोतल्छु भनेर साइन गर्या जस्तो लाग्दैन । कसैलाई केही बिगार्या छैन, कति पछि पर्या हुन् । केही पनि उत्तर छैन दिनलाई । के दिने उत्तर ?’ उनी भन्छिन् ।
मानिसमा सोचको समस्या रहेको श्रृंखलाको तर्क छ । उनले भनेकी छन्, ‘जीवनमा मैले नियतवश कुनै नराम्रो गरेको छैन । मान्छेको दृष्टिकोण बदल्न सक्दिनँ ।’ शृंखलाले आफ्नो बारे मिडियामा चलेका कुराहरु ‘अर्धसत्य’ भएको पनि बताइन् । उनले टिकटकमा आफ्नो कुरा आधा काटेर भिलेन बनाउन खोजेको प्रति असन्तुष्टि जनाइन् । ‘मैले आफूलाई जे सोच्छु त्यो अरुलाई थाहा छैन । मैले आफूलाई जो सोच्छु त्यो नै सत्य हो,’ उनले भनेकी छन् ।




