काठमाडौं । आज भाइटीका । कलाकारहरूले आफ्ना दिदीबहिनी र दाजुभाइसँग टीका ग्रहण गरेका छन् । आज टीका ग्रहण गरेसँगै कलाकारहरुले टीका ग्रहण गरेको तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक गरेका छन् ।

दशैं तिहारका अवसरमा धेरै कलाकारहरू घरमा बस्न पाउँदैनन् । देश विदेशमा हुने कन्सर्टले उनीहरूलाई भ्याइ नभ्याई हुन्छ । केही कलाकारहरूले घरमै तिहार मनाएको भन्दै तस्बिर पोस्ट गरेका छन् ।

कलाकारहरूले टीका र माला ग्रहणपश्चात् सामाजिक सञ्जालमा तस्बिर सार्वजनिक गरेका छन् । यमपञ्चकको पाँचौँ दिन आज घर घरमा भाइटीका लगाउने क्रम जारी छ ।

आज लक्ष्मी पूजाका दिन स्थापना गरिएको दियो, कलश र गणेशको पूजा गरी मूल थालीमा लेखिएको अष्टदलमा मार्कण्डेय, अश्वत्थामा, बलि, व्यास, हनुमान, विभीषण, कृपाचार्य र परशुराम गरी अष्ट चिरञ्जीवी, चित्रगुप्त, यमराज, यमुना र धर्मराज, गणपत्यादि वनस्पत्यन्त देवताको समेत पूजा आराधना गरी दिदीबहिनीले दाजुभाइलाई तेलको धाराले छेकेर परम्पराअनुसार सप्तरङ्गी वा पञ्चरङ्गी टीका, मखमली, सयपत्री वा गोदावरी लगायतका फूलका माला लगाइदिने गरिन्छ ।

तिहारमा सप्तरङ्गी टीका लगाउने भनी प्रचार प्रसार गरिए पनि शास्त्रीय मान्यता भने तिहारमा लगाउने टीकाको रङ रातो, सेतो, पहेँलो, हरियो र नीलो गरी पाँच वटा उल्लेख गरिएको धर्मशास्त्रविद् बताउँछन् ।









