काठमाडौं । अभिनेत्री निशा अधिकारीले पति क्रिकेटर शरद भेषावकरविरुद्ध हालेको अंश मुद्दा जितेकी छन् । नायिका निशाले पतिबाट अंशबन्डा र मानाचामल पाउनु पर्ने माग गरी २०७९ भदौमा जिल्ला अदालत काठमाडौंमा मुद्दा हालेकी थिइन् ।
न्यायाधीश शिशिरराज ढकालको इजलासले निशाले पति भेषावकरको सम्पत्तिबाट तीन भागको एक भाग अंश पाउने फैसला गरेको हो । तर, अदालतले नाबालक छोराको अंश निशालाई दिन भने अस्वीकार गरेको छ ।
२०७४ असारमा विवाह गरेका यो दम्पतीको ५ वर्षीय एक छोरा छन् । निशाले छोरा आफूसँगै रहेकाले पतिको सम्पत्तिको तीन भागको दुई भाग अंश पाउनु पर्ने दाबी गरेकी थिइन् ।
तर अदालतले छोरा बालिग नहुन्जेल पति–पत्नी दुवैको संरक्षणमा रहने भएकाले उनले पाउने अंश पनि साझा नै रहने फैसला सुनाएको हो । सम्बन्धमा दरार आएपछि निशाले अंश मुद्दा हालेकी हुन् ।
यस्तै अंश नपाउन्जेल आमाछोरा दुई जनाका लागि शरदले मासिक ४१ हजार रुपैयाँ खर्च दिनुपर्ने पनि फैसलामा उल्लेख छ । निशाले भने मासिक १ लाख माग गरेकी थिइन् ।
शरदले अदालतमा दिएको बयान अनुसार निशा २०७५ मंसिरदेखि आफूखुसी माइतमा बसिरहेकी छन् । शरद नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वखेलाडी हुन् भने अभिनेत्री निशाले थुप्रै चलचित्रमा अभिनय गरेकी छन् ।




