काठमाडौं । टेलिभिजन कमेडी शो ‘मुन्द्रेको कमेडी क्लब’ बन्द भएको छ । तेस्रो सिजन प्रसारण भइरहेको शो एक्कासि बन्द हुन लागेको हो । संचालक जितु नेपालले सामाजिक सञ्जालमा स्टाटस लेख्दै शो बन्द गर्न लागिएको घोषणा गरेका हुन् ।
उनका अनुसार शोको मंगलबार अन्तिम भाग प्रसारण हुनेछ । शो एक्कासि बन्द गर्नुपर्ने कारण भने समय आएपछि मात्रै भन्ने जितुले उल्लेख गरेका छन् ।
‘३ सिजन गरेर १८४ भाग गरिएछ । सबैप्रति आभारी छु’ उनले लेखेका छन् ‘भन्न पर्ने कुरा सबै कार्यक्रममै भनेको छु । एक्कासि बन्द गर्नुपर्ने केहि कारण चाहिँ भनेको छैन । अहिले पनि भनिन्, समय आएपछि भनौँला ।’ यो शोमा उषा पौडेल रिजाल प्रमुख कार्यकारी निर्माता हुन् ।
दिनेश डिसी निर्देशक रहेको शोको अध्यक्षमा प्रियंका कार्की थिइन् । शोमा जितु र प्रियंकासहित राजेन्द्र नेपाली, दिनेश काफ्ले, प्रभात लामा, एलिना बास्कोटा, श्याम राना मगर, राधिका कंडेल लगायत प्रस्तुत हुँदै आएका थिए ।




