एजेन्सी । टी-२० विश्वकपमा समूह ए अन्तर्गतको खेलमा अमेरिकाले पाकिस्तानविरुद्ध ऐतिहासिक जित हासिल गरेको छ । सुपर ओभरमा पाकिस्तान ५ रनले पराजित भएको हो । सुपर ओभरमा पहिले ब्याटिङ गरेको अमेरिकाले १८ रन बनाएको थियो । एरोन जोन्सले ११ रन बनाउँदा मोहम्मद आमिरले ७ रन अतिरिक्त रन दिएका थिए ।
यसअघि पाकिस्तानले प्रस्तुत गरेको १ सय ६० रनको लक्ष्य पछ्याएको अमेरिकाले निर्धारित २० ओभरमा ३ विकेटको क्षतिमा १ सय ५९ बनाएको थियो । दुवै टोलीको स्कोर समान भएपछि खेल सुपर ओभरमा पुगेको थियो । अमेरिकाका लागि कप्तान मोनांक पटेलले अर्धशतकीय इनिङ्स खेले । ३८ बलको सामना गर्दै उनले ७ चौका र १ छक्का हिर्काए ।
त्यस्तै, एरोन जोन्सले नटआउट रहँदै २६ बलमा ३६ रन जोडे । उनले २ चौका र २ छक्का प्रहार गरे । एन्ड्रियस गाउसले २६ बलमा ३५ रनको योगदान दिए । नितिश कुमारले १४ बलमा १४ रन बनाए । पाकिस्तानका लागि मोहम्मद आमिर, नसिम शाह र ह्यारिस राउफले १–१ विकेट लिए ।
पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ५९ रन बनाएको थियो । पाकिस्तानका लागि कप्तान बाबर आजमले सर्वाधिक ४३ बलमा ४४ रनको योगदान दिए । उनले ३ चौका र २ छक्का हिर्काए ।
यस्तै सदाब खानले २५ बलमा ४० रनको योगदान दिए । उनले १ चौका र ३ छक्का प्रहार गरे । शाहिन शाह अफ्रिदीले १६ बलमा २३ रन जोडे । अमेरिकाका लागि नोस्थुस केन्जिंगेले ३ विकेट लिए भने सौरभ नेत्रभाल्करले २ विकेट लिँदा अली खान र जस्दीप सिंहले १/१ विकेट लिए ।




