एजेन्सी । दक्षिण अफ्रिका ऐतिहासिक सफलता प्राप्त गर्दै जारी टी-२० विश्वकपको फाइनलमा पुगेको छ । बिहिबार बिहान भएको सेमिफाइनलमा दक्षिण अफ्रिकाले अफगानिस्तानलाई ९ विकेटले हराउँदै विश्वकपको फाइनलमा पुगेको हो ।
यसअघि दक्षिण अफ्रिका एकदिवसीयमा पाँच र टी-२० मा दुई पटक सेमिफाइनलबाट बाहिरिएको थियो । ५७ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले ८.५ ओभरमा १ विकेट गुमाउँदै लक्ष्य पूरा गरेको हो ।
दक्षिण अफ्रिकाका रिजा हेन्डिक्स २५ बलमा ३ चौका र १ छक्कासहित २९ रनमा अविजित रहे । एडेन माक्ररम २१ बलमा ४ चौकासहित २३ रनमा नट आउट रहे ।
त्यसअघि अफगानिस्तान दक्षिण अफ्रीकाविरुद्ध ५६ रनमा अलआउट भयो । जारी टी- २० विश्वकपको सेमिफाइनल खेलमा टस जितेर पहिला ब्याटिंग गरेको अफगानिस्तान ११.४ ओभरमा ५६ रन बनाएर अलआउट भएको थियो ।
अफगानिस्तानका लागि अज्मतुल्लाह ओमरजाईले सर्वाधिक १० रन बनाएका थिए भने अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन । त्यस्तै, दक्षिण अफ्रिकाका बलर मार्को जानसेन र ताब्रिज शाम्सीले ३/३ विकेट लिए भने कागीसो रबाडा र एनरिच नोकियाले २/२ विकेट लिए ।




