एजेन्सी । भारतीय क्रिकेटर रोहित शर्माले पनि विश्वकप जिते पश्चात टी-२० अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन् । भारतीय टोलीका कप्तान रोहित शर्माले विश्वकपको उपाधि जितेपछि टी-२० अन्तर्राष्ट्रियबाट सन्यासको घोषणा गरेका हुन् ।
खेलपछि पत्रकार सम्मेलनमा रोहित शर्माले दक्षिण अफ्रिकाविरुद्ध खेलिएको टी-२० विश्वकपको अन्तिम खेल आफ्नो टी-२० अन्तर्राष्ट्रिय करियरको अन्तिम खेल भएको बताए ।
रोहित शर्माले भने, ‘यो मेरो अन्तिम खेल पनि थियो। मलाई हरेक पल मनपर्यो । म यही चाहन्थेँ, म भारतलाई विश्वकप जिताउन चाहन्थेँ ।’ यद्यपि रोहित शर्माले भारतको टेस्ट र एकदिवसीय क्रिकेट खेल्न जारी राख्नेछन् ।
यसअघि भारतीय क्रिकेट टोली विश्व च्याम्पियन बनेपछि विराट कोहलीले टी-२० अन्तर्राष्ट्रिय फर्म्याटबाट सन्यासको घोषणा गरेका थिए । भारतीय टोलीले २० ओभरमा ७ विकेट गुमाएर १७६ रन बनाएको थियो जसमा विराट कोहलीले ७६ रनको इनिङ खेलेका थिए ।
उनी खेलको प्लेयर अफ द म्याच चुनिएका थिए । उनले भने, ‘हामी यो कप उठाउन चाहन्थ्यौं । हामीले हारेको भए मैले सन्यास लिने घोषणा गर्ने थिए । अब अर्को पुस्तालाई पालो दिने समय आएको छ । टी-२० खेललाई अगाडि बढाउन लामो समय लाग्छ ।’




