काठमाडौं । गायिका ज्योति मगरले सामाजिक सञ्जालमार्फत राष्ट्रिय स्वतन्त्र पार्टी अर्थात् ‘घण्टी’ चिन्हका केही नयाँ नेताहरूका अभिव्यक्ति र एजेन्डामाथि तीखो व्यङ्ग्य गरेकी छन् । उनले पछिल्ला दिनहरूमा सार्वजनिक भएका विवादास्पद भनाइहरूलाई उदाहरण दिँदै राजनीतिक नेतृत्वको स्तर र जिम्मेवारीमाथि प्रश्न उठाएकी छन् ।
मगरले व्यङ्ग्यात्मक शैलीमा “यसपालि चुनाव घण्टीका नयाँ–नयाँ नेताले नै जित्नुपर्छ, उहाँहरूको एजेन्डा र वाणी सारै राम्रा छन्” भन्दै केही भनाइहरू उल्लेख गरेकी छन् । उनले सामाजिक सञ्जालमा चर्चामा आएका कथित अभिव्यक्तिहरू प्रस्तुत गरेकी छन् ।
उनले खसी काटेर खाने भए गोरु काटेर खान पाउनु पर्छ भन्ने भनाइदेखि गरिबले राजनीति गर्नु हुँदैन, पैसा कमाएकाले मात्र गर्नुपर्छ भन्ने तर्कसम्म सार्वजनिक भएको प्रति कटाक्ष गरेकी छन् ।
उनले घण्टीले जिते बालेन र रविलाई स्याङ्जा ल्याउने बाचा गर्छु भन्ने अभिव्यक्ति र बलात्कार गर्नु तथा झापड हान्नु एउटै कुरा हो भनेर सामान्य रूपमा लिनुपर्छ भन्ने भनाइलाई पनि उदाहरणका रूपमा अघि सारेकी छन् । यस्ता अभिव्यक्तिहरूलाई ‘अद्भुत क्यारेक्टर’ भन्दै मगरले यस्ता पात्रहरू संसारमा सजिलै नआउने टिप्पणी गरेकी छन् ।
पुराना नेताहरूले स्वाधीनता, सार्वभौमता, समावेशिता र दिगो विकासजस्ता विषय उठाए पनि जनताले बुझ्दैनन् भन्ने शैलीमा व्यङ्ग्य गर्दै उनले नयाँ नेताहरूलाई ‘हाम्रो सोच र स्तरका लागि पर्फेक्ट’ भनेर टिप्पणी गरेकी छन् ।
मगरले खगेन्द्र सुनार, विनीता कठायत, रिमा विश्वकर्मा र सोभिता गौतमजस्ता पात्रहरूको नाम उल्लेख गर्दै फागुन २१ पछि देश बन्छ तर के बन्छ भन्ने प्रश्न पनि उठाएकी छिन् । ‘फागुन २१ पछि देश बन्छ तर के बन्छ बन्न त बन्छ, खरानी बनिसक्यो अब गुलामी बन्छ’, उनले सामाजिक सञ्जालमा लेखेकी छिन् ।
उनले यो व्यङ्ग्यात्मक पोस्टले सामाजिक सञ्जालमा व्यापक चर्चा र प्रतिक्रिया पाएको छ । कतिपयले समर्थन जनाएका छन् भने कतिपयले आलोचना पनि गरेका छन् ।






