रौतहट । वैदेशिक रोजगारीमा आकर्षक तलबको काम लगाइदिने प्रलोभन देखाएर सात जनाबाट ८१ लाख ५० हजार रुपैयाँ ठगी गरेको आरोपमा एक व्यक्ति काठमाडौंमा पक्राउ परेका छन् । पक्राउ पर्नेमा धनुषाको जनकनन्दिनी गाउँपालिका २ बलाहा निवासी करिब ४० वर्षीय सहाबुद्दिन शेख रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय रौतहटले बिहीबार सार्वजनिक गरेको विवरणअनुसार शेखले अन्य तीन जनासँग मिलेर शेख दरखसिद अनवरसहित सात जनालाई वैदेशिक रोजगारीमा पठाइदिने आश्वासन दिएका थिए । विदेशमा राम्रो आम्दानी हुने काम मिलाइदिने भन्दै उनीहरूबाट मोबाइल बैंकिङ तथा विभिन्न बैंक खातामार्फत कुल ८१ लाख ५० हजार रुपैयाँ लिएको आरोप छ ।
रकम बुझाएपछि पनि प्रतिबद्धताअनुसार काम नभएको भन्दै पीडितहरूले जाहेरी दिएपछि प्रहरीले ठगी तथा आपराधिक विश्वासघातसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाएको थियो ।
घटनापछि फरार रहेका शेखलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको संयुक्त प्रहरी टोलीले असोज २७ गते काठमाडौं महानगरपालिका १६ स्थित नयाँ बजारबाट पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डीएसपी बसन्त गौतमका अनुसार पक्राउ परेका शेखलाई रौतहट ल्याएर प्रहरी हिरासतमा राखिएको छ । घटनामा उनको संलग्नता तथा अन्य व्यक्तिहरूको भूमिकाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
वैदेशिक रोजगारीका नाममा ठगीका घटना भइरहेका बेला प्रहरीले आकर्षक तलब र विदेशमा रोजगारी मिलाइदिने प्रलोभनमा परेर हतारमा रकम नबुझाउन सर्वसाधारणलाई आग्रह गरेको छ ।
विदेश पठाइदिने आश्वासन दिने व्यक्ति वा संस्थाको आधिकारिकता जाँच गर्न, म्यानपावर कम्पनीको वैधानिक अवस्था यकिन गर्न तथा श्रम स्वीकृति, रोजगारदाता कम्पनी र आवश्यक कागजातको विश्वसनीयता पुष्टि गरेर मात्रै आर्थिक कारोबार गर्न प्रहरीले सुझाव दिएको छ ।




