रौतहट । रौतहटको फतुवा विजयपुर नगरपालिकाको स्थानीय राजनीतिमा नयाँ समीकरण देखिएको छ । नेपाली कांग्रेसबाट दुई पटक नगर प्रमुख बनेका निलम्बित मेयर गोपाल राय यादव दर्जनौँ नेता तथा कार्यकर्तासहित जनता समाजवादी पार्टी (जसपा) नेपालमा प्रवेश गरेका छन् । उनको यो राजनीतिक कदमलाई आगामी स्थानीय तह निर्वाचनलाई लक्षित रणनीतिका रूपमा हेरिएको छ ।
बिहीबार गुजरा नगरपालिकाको सिम्रा भवानीपुरमा आयोजित पार्टी प्रवेश कार्यक्रममा यादवसहित उनका छोरा आदित्य यादव पनि जसपामा प्रवेश गरेका हुन् । आगामी निर्वाचनमा नगर प्रमुखको उम्मेदवारका रूपमा अघि सारिएका आदित्यलाई राजनीतिक उत्तराधिकारीका रूपमा स्थापित गर्ने प्रयास समेत यस घटनासँग जोडिएको छ ।
यादव परिवारसँगै पूर्व वडा अध्यक्ष हिरालाल यादव, भविष्ण यादव, वडा अध्यक्षका प्रत्याशी जगदीश यादव र त्रिलोकी यादवसहित सयौँ नेता तथा कार्यकर्ताले कांग्रेस छाडेर जसपाको सदस्यता लिएका छन् ।
नवप्रवेशीहरूलाई जसपाका केन्द्रीय वरिष्ठ उपाध्यक्ष गोविन्द चौधरीले टीका तथा माला लगाएर पार्टीमा स्वागत गरेका थिए । कार्यक्रममा मधेस प्रदेश अध्यक्ष बालकिशोर प्रसाद यादव, गुजरा नगरपालिकाका मेयर सन्तलाल प्रसाद चौधरी, प्रदेश सचिव पुनित राम, प्रदेश सदस्य अनिल यादव, विजय चौधरीलगायत नेताहरूको उपस्थिति थियो ।
कांग्रेससँगको सम्बन्धमा चिसोपन, जसपाबाट नयाँ राजनीतिक यात्रा
गोपाल राय यादव २०७४ र २०७९ सालको स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसको टिकटबाट फतुवा विजयपुर नगरपालिकाको मेयर पदमा निर्वाचित भएका थिए । तर भ्रष्टाचारसम्बन्धी मुद्दामा दोषी ठहर भई सर्वोच्च अदालतबाट समेत सजायको फैसला सदर भएपछि उनको राजनीतिक यात्रामा चुनौती थपिएको थियो ।
अदालतको फैसलापछि यादव र नेपाली कांग्रेस रौतहटका जिल्ला सभापति तथा पूर्व अर्थमन्त्री सुनिलकुमार यादव (जितेन्द्र) बीचको सम्बन्धसमेत चिसिएको बताइन्छ । पारिवारिक रूपमा आफन्त रहे पनि दुवै पक्षबीच बोलचालसमेत बन्द भएको र आदित्य यादवले विभिन्न अवसरमा कांग्रेस नेतृत्वको आलोचना गर्दै आएको राजनीतिक वृत्तमा चर्चा हुँदै आएको थियो ।
यही पृष्ठभूमिमा गोपाल यादवले कांग्रेस छाडेर जसपा रोज्नुलाई सामान्य पार्टी प्रवेशभन्दा पनि फतुवा विजयपुरको आगामी चुनावी राजनीतिसँग जोडेर हेरिएको छ । आफू नगर प्रमुखको जिम्मेवारीमा रहँदा भोगेका राजनीतिक उतारचढावपछि गोपाल यादवले अब छोरालाई अगाडि सार्दै नयाँ राजनीतिक आधार तयार गर्न खोजेको देखिन्छ ।




