काठमाडौं । फिल्म क्षेत्रलाई हल्लै हल्लाको क्षेत्र पनि भनिन्छ । यहाँ काम कम हल्ला बढी हुने गर्छ । केही समय अघिदेखि नेपाली चलचित्र वृत्तमा एउटा हल्लाले पुरै उद्योग नै हल्लाइरहेको छ, त्याे हाे अभिनेता पल शाह र गायिका समीक्षा अधिकारीबीचकाे सम्बन्ध ।
पछिल्लो समय पल र समीक्षाको सम्बन्धबारे सबैको चासो बढेको छ । टेलिभिजन कार्यक्रम रजतपटमा पत्रकार प्रकाश सुवेदीले कुरा उठाएपछि पल र समीक्षाका फ्यानहरु पनि खास कुरा के हो जान्न आतुर छन् ।
करिब एक महिना अघिदेखि चलिरहेको पल समिक्षा सम्बन्धको चर्चाबारे पत्रकार सुवेदी आफूमाथि आरोप लागेपछि मात्रै बोलेका हुन् । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका केन्द्रिय सदस्य दुर्गा पंगेनी लगायत केहि कलाकर्मीले सामाजिक सञ्जालमा पल–समीक्षा सम्बन्ध प्रसंगमा स्टाटस लेख्दै पत्रकार सुवेदीले उनीहरुसँग सम्बन्धित रिपोर्ट बजाउन लागेको र पछि पैसा लिएर कार्यक्रम रोकेको आरोप लगाएका थिए । पंगेनीले लेखेका छन्, ‘पछिल्लो गसिप चर्काउने रिपोर्ट रेडी थियो रे । पलसँग पैसा लिएर बजाएनन रे । गसिपै त हो, प्रमाण नभएको कुरो बोल्न नमिल्नी !’

यसकाे खण्डन गर्दै बिहीबारकाे कार्यक्रममा पत्रकार सुवेदीले भनेका छन्, ‘त्यसो त हामी हल्लाको पछि लाग्दैनौँ । तर कतिपयले हामीलाई पनि त्यो हल्लासँग मुछिदिएका कारण अलिकति भए पनि कुरा नगरी नहुने भयो । पल शाह र गायिका समिक्षा अधिकारीबीच कुनै घटना परिघटना भयो रे । त्यो घटनालाई लुकाउन वा सार्वजनिक नगर्न ठुलै धनराशीको चलखेल समेत भएको छ रे ।’
उनले आफ्नो टीमले दुवै जनासँग कुरा गरेको उल्लेख गर्दै भने, ‘यो कुराबारे दुवै पात्रसँग जिज्ञासा राख्यौँ । दुवैले हाम्रो कुरा हाँसेर उडाइदिए । तर क्यामेरा अगाडी बोल्न भने दुवै जना हिच्किचाइ रहेका छन् । त्यसैले भनिन्छ नि, दालमे कुछ काला हे !’
के हो घटना ?
अनलाइन मिडिया नेपाल प्रेसले उल्लेख गरे अनुसार ६ महिना अगाडि युट्यूबमा रिलिज भएको ‘सुर्ती माड्दै’ बोलको गीतको सुटिङका क्रममा पल र समीक्षा नजिकिएका, सुटिङका क्रममा उनीहरूकाे सम्बन्ध झाँगियाे ।
समीक्षासँगको निकटतालाई पलले हल्काफुल्का रूपमा लिए पनि समीक्षा भने पलसँगको सम्बन्धमा सिरियस हुन थालिन् । तर, केही समयपछि पल समीक्षासँग विस्तारै टाढिने प्रयासमा लागे । फोन नउठाउने र म्यासेज रिप्लाइसमेत नगर्ने भएपछि समीक्षाको छट्पटाहट सुरू भयो । उनी पलसँग छुट्टिनै नसक्ने अवस्थामा पुगिसकेकी थिइन् । त्यसपछि उनीहरूबीच झगडा हुन थाल्यो ।
समीक्षाले आफ्ना निकटस्थहरूलाई सेयर गरेअनुसार पलले उनलाई भनेका थिए, ‘तिमीजस्तो अफेयर मेरो कतिजनासँग भयो कति ।’ उनले अर्की एक म्युजिक भिडिओ मोडलको उदाहरणसमेत दिएर ‘धेरै निहुँ खोजे उसलाई जस्तै अप्ठेरोमा पारिदिनसक्ने’ भनेर समीक्षालाई धम्याएका समेत थिए ।
पलको बोली र व्यवहारबाट समीक्षा विक्षिप्त बन्न पुगिन् । एक-डेढ महिनाजति उनले नयाँ गीत गाउन पनि सकिनन् । करिब डिप्रेसनकै अवस्थामा पुगेपछि उनले आफन्त र नजिकका केही साथीहरूलाई आफ्नो पीडा सेयर गरिन् । सबैसँग सल्लाहपछि निर्णायक कदम चाल्ने निधोमा पुगिन् । समीक्षाले पललाई यदि सम्बन्ध तोडेको खण्डमा आफूसँग रहेका फोटो-भिडिओहरू बाहिर ल्याइदिने र पुलिस केससमेत गर्ने चेतावनी दिइन् । त्यसपछि भने पल हच्किए । १७ वर्षीया समीक्षा उमेरले नाबालिग भएको हुँदा पल कानूनी झमेलामा फस्न सक्ने प्रचुर सम्भावना थियो । त्यसैले उनी लचिलो भए ।
स्रोतका अनुसार सुरूमा उनले समीक्षालाई आर्थिक प्रलोभन दिएका थिए । एक करोडको अफर गर्दा समीक्षाले ठाडै अस्वीकार गरिन् । त्यसपछि पल उनीसँग समझदारीमा आउन बाध्य भए । समीक्षाको मामा पर्ने एक पूर्वगृहसचिवको रोहबरमा उनीहरूबीच विवाहको मौखिक समझदारी भयो । त्यसपछि फेरि समीक्षाको परिवार र दुई सञ्चारकर्मीको रोहबरमा लिखित समझदारी भएको स्रोतको दावी छ । अपुष्ट दावीअनुसार दुई वर्षपछि समीक्षा बालिग भएसँगै विवाह गर्न पलले लिखित सहमति जनाएका छन् ।
पलकाे खण्डन
पल शाहले याे हल्ला वास्तविकता नभएकाे दाबी गरेका छन् । उनले भनेका छन्, ‘मैले पनि बाहिरबाट सुनेको हल्ला हो । तर, हामीबीच त्यस्तो केही छैन । हामीले म्युजिक भिडिओमा एउटा टिममा बसेर सँगै काम गरेका हौं । टिममा काम गर्दा नजिक भइन्छ । सँगै बसिन्छ, खाइन्छ । त्यो स्वाभाविक हो । अफेयरको कुरा चाहिँ विल्कुल सत्य होइन । उनले मलाई अभिभावकको रूपमा सम्मान गर्छिन्, म पनि सपोर्ट गर्छु ।’
उनले बिवाहकाे बारेमा भने भन्न नसकिने बताए – ‘अहिले त्यस्तो केही पनि प्लानिङ गरिएको छैन । तर, भविष्य त कसले देख्न सक्छ र ?’
यस्ताे अनावश्यक हल्लाले दुवैकाे परिवारलाई असर गर्ने भन्दै उनले सञ्चारमाध्यमलाई जथाभावी नलेखिदिन आग्रह समेत गरे ।
पलले ‘हल्ला’ काे खण्डन गरे पनि समीक्षाले भने आधिकारिक रुपमा अहिलेसम्म बोलेकि छैनन् । पछिल्लो समय मिडियासँग पनि दुवै जना तर्किने गरेका छन् । समीक्षा मिडिया फेस गर्न समेत डराइरहेकी छिन् ।
एक महिनाअघि असोजमा भएको एक कार्यक्रममा पनि समीक्षा गीतको लागि बाँकी रहेको लिप्सिङको भिडियो सुट गरेर गीत रिलिजका लागि आयोजित कार्यक्रम हलमा प्रवेश नै नगरी बाहिरिएकी थिइन् । पत्रकारहरुले करिब दुई घन्टा पर्खिए । तर, समीक्षा सुटुक्क हिँडेपछि आयोजक पनि अलमलमा नै पर्यो । गायक नेत्र भण्डारीले पनि समीक्षाले थाहा नै नदिई हिँडेको भन्दै दुःख व्यक्त गरेका थिए ।
त्यसाे त फिल्म लाइनमा कसैसँग चक्कर चल्नु, कसैसँग घुम्न जानु, कुरा मिल्दै गएपछि विवाह हुनु र बिवाहपछि पनि कुरा मिलेन भने डिभोर्स हुनु सामान्य प्रक्रिया जस्तै हो । तर सम्बन्धित कलाकारले त्यस्तो केही हुँदै होइन भन्दा भन्दै पनि कुरा काटिरहनु र खुट्टा तानिरहनु पक्कै पनि राम्रो होइन । यी कुराहरु दुवै जनाले सँगै बसेर सञ्चारकर्मी सामु खण्डन गर्न जरुरी छ ।
पल र समीक्षा यो गसिपबाट कहिलेसम्म भाग्ने ? अब स्पष्ट जवाफ दिएर आफ्नो भनाइ सार्वजनिक गर्ने कि !




