एजेन्सी । ४१ वर्षदेखि चलचित्र क्षेत्रमा सक्रिय रहेका रजनीकान्तलाई हालसालै भारतीय चलचित्रको सर्वोच्च सम्मान दादासाहेब फाल्के अवार्डबाट सम्मानित गरियाे । सन् १९७५ मा चलचित्र ‘कथा संगम’ बाट डेब्यू गरेका रजनीकान्तकाे जीवनमा धेरै उत्तरचढाव आए । समस्या, बाधा अड्चन सबैलाई पन्छाउँदै अघि बढेका उनी आज सफल र लाेकप्रिय अभिनेताका रूपमा चिनिन्छन् ।
रजनीकान्तले चलचित्र क्षेत्रमा जम्न निकै संघर्ष गर्नुपर्याे । चार वर्षकाे उमेरमै आमा गुमाएका उनी साथीकाे सहयाेगमा अभिनेता बन्न सफल भएका हुन्, उनी स्वयम् पनि याे कुरा स्वीकार्छन् ।
रजनीको वास्तविक नाम शिवाजी राव गायकवाड हो । १२ डिसेम्बर १९५० मा बैंगलोरको मराठी परिवारमा जन्मिएका रजनीकाे परिवार आर्थिक हिसाबले पिछडिएकाे थियाे । जिजाबाई र रामोजी रावका चार सन्तानमध्ये कान्छा सन्तान रजनीले आफ्नो स्कुले पढाइ बैंगलोरमै गरेका थिए । चार वर्षको उमेरमा उनले आमा गुमाए ।
घरको आर्थिक अवस्था खासै राम्रो थिएन । पेट भर्नकै लागि उनले कुलीदेखि बस कन्डक्टरसम्म काम गरे । बसमा टिकट काट्ने अनौठो तरिकाका कारण उनी बस चालक र कन्डक्टरमाझ निकै लोकप्रिय थिए । उनीमा अभिनयकाे रहर थियाे, तर आर्थिक समस्याका कारण उनी त्यतातर्फ माेडिन सकिरहेका थिएनन् ।
उनका साथी राजबहादुरले उनको अभिनेता बन्ने सपना पूरा गर्न निकै सहयोग गरे । राज बहादुरले रजनीकान्तलाई मदरास फिल्म इन्स्टिच्युटमा भर्ना हुन प्रेरित गरेका थिए । रजनीकान्तका लागि भर्ना हुन सजिलो थिएन । राज पनि उनीजस्तै बस कन्डक्टर थिए । रजनीको सहयोगका लागि उनीसँगै अरू केही साथीहरू अगाडि आए । रजनीले यो आवासको उपयोग गर्दै अभिनयसँगै तमिल भाषा पनि सिके ।
रजनीकान्तकाे अभिनय यात्रा चलचित्र निर्देशक के. बालचन्द्रकाे चलचित्र ‘अपुर्वा रागनगाल’ बाट सुरू भयाे । यसमा उनको सानो नकारात्मक भूमिका थियो । त्यसपछि सुरुका दुई–तीन वर्ष उनले यस्तै सानो सानो भूमिका पाए ।
चलचित्र ‘भुवन ओरु केल्विकुरी’ मा उनी नायकको भूमिकामा देखिएका थिए । मुथुरमम र रजनीकान्तको जोडीलाई दर्शकले निकै रुचाएका थिए । त्यसपछि उनीहरूले करिब २५ चलचित्रमा एकसाथ काम गरे ।
सन् १९७८ मा अमिताभ बच्चनको हिट चलचित्र ‘डन’ को रिमेक चलचित्र ‘बिल्ला’ बक्स अफिसमा निकै सफल भएको थियो । अमिताभको स्थानमा रजनीले अभिनय गरेका थिए । उनलाई सन् १९८२ मा तमिलनाडु सरकारले ‘मुन्दरु मुगम’ बाट पहिलो पटक उत्कृष्ट अभिनेताको अवार्ड प्रदान गरेको थियो ।
सन् १९९५ मा रिलिज भएको चलचित्र ‘बाशा’ बाट रजनीकान्त सुपरस्टार बनेका थिए । यसले बक्स अफिसको धेरै रेकर्डसमेत तोडेको थियो । यससँगै उनले तमिल चलचित्रलाई अन्तरराष्ट्रिय मञ्चमा पुर्याए । उनको ‘मुथु’ चलचित्र जापानमा रिलिज भएको पहिलो तमिल चलचित्र थियो । यसपछि २०१७ मा उनको ‘चन्द्रमुखी’ टर्किस र जर्मन भाषामा रिलिज भएको थियो । ‘शिवाजी’ उनको पहिलो चलचित्र हो‚ जसले बेलायत र दक्षिण अफ्रिकाका बक्स अफिसमा उत्कृष्ट प्रदर्शन गर्यो ।
रजनीकान्तले आफ्नो १० वर्षको फिल्मी करिअरमा १०० चलचित्रमा अभिनय गरेका छन् । उनले आफ्नो १०० औँ चलचित्र ‘श्री राघवेन्द्र’मा हिन्दु सन्त राघवेन्द्र स्वामीको भूमिका निभाएका थिए । उनको पहिलो हिन्दी चलचित्र ‘अन्धा कानून’ थियो ।




