काठमाडाैं । बलिउड अभिनेता अनुपम खेरले पशुपतिनाथ मन्दिर परिसरमा भेटिएकि एक बालिकालाई निःशुल्क पढाउने भएका छन् । भारतकाे राजस्थान घर भएकि बालिका आरतीकाे पढाइकाे जिम्मा उनले लिएका हुन् ।
अनुपमले हिन्दी फिल्म ‘उचाइ’ छायाँकनका लागि नेपाल आएको बेला गत साता पशुपतिनाथ मन्दिर परिसरमा उनलाई भेटेका थिए ।
मंलबार एक ट्वीट गर्दै अनुपमले भारतको राजस्थान घर बताउँदै आरतीले आफूसँग पैसा मागेको र राम्रो अंग्रेजी बोल्ने क्षमता भएको भन्दै प्रशंसा समेत गरेका छन् । उनले ट्वीटरमा लेखेका छन्, ‘मैले काठमाडौंको एउटा मन्दिर बाहिर आरती फेला पारेँ । उनी राजस्थानकि हुन् । उनले मसँग केही पैसा मागिन् । त्यसपछि मसँग १ तस्बिर खिचिन् । त्यसपछि अंग्रेजीमा कुरा गरिन् । उनी स्कुल गएर पढ्न चाहन्छिन् । @anupamcares ले उनकाे अध्ययनकाे जिम्मेवारी लिएको छ !’
बलिउड चलचित्र ‘उचाई’को नेपालमा छायाङ्कन सकिएको छ । नेपालमा २५ दिन यसको छायाङ्कन गरिएको थियो । दुई दिन काठमाडौँ र बाँकी समय हिमाली जिल्लामा छायाङ्कन यो चलचित्र २८ अक्टोबरमा नेपालको कार्यतालिका पूरा गरेको हो ।
खोटाङको नाम्चेदेखि मनाङको विभिन्न ठाउँमा छायाङ्कन गरिएको यस चलचित्रको शुक्रबार पहिलो तालिका अन्तर्गतको छायाङ्कन सकिएको र दोस्रोका लागि भारतका विभिन्न स्थानमा छायाङ्कन हुने राजश्री प्रोडक्सनले जनाएको छ । सुरज वाडजात्याद्वारा निर्देशित चलचित्रमा अनुपम खेर, वमन इरानी, निना गुप्ता, सारिका हसन, परिणिती चोपडालगायत कलाकार सहभागी थिए ।




