एजेन्सी । भारतमा कोभिड-१९ को तेस्रो लहर सुरु भएको छ । पहिले जस्तै महाराष्ट्र र मुम्बई यसको केन्द्रमा देखिएको छ । महाराष्ट्रमा आइतबार ११ हजार ८७७ जनामा संक्रमण देखिएको छ । जसमध्ये ८ हजार केसहरु मुम्बईमा मात्र पुष्टि भएको छ । यद्यपि, बीएमसी (बृहन्मुम्बई महानगरपालिका) आयुक्त आईएस चहलले महानगरमा आउने अधिकांश केसहरू गम्भीर नभएको र करिब ९१ प्रतिशत केसहरू लक्षणविहीन भएको दाबी गरेका छन् ।
चहलले राज्य-स्तरीय कार्यदलका विज्ञहरूलाई उद्धृत गर्दै भने कि मुम्बईमा रिपोर्ट गरिएका कुल केसहरूमध्ये ८० प्रतिशत ओमिक्रोनका हुन्, बाँकी २० प्रतिशत अरूका हुन् । उनका अनुसार मुम्बईमा हाल २९ हजार ३ सय कोरोनाका सक्रिय संक्रमित छन् । पछिल्लो दुई दिनमा क्रमशः ८ हजार ६३ र ६ हजार ३ सय ४७ नयाँ संक्रमित थपिएका छन् । तीमध्ये ९१ प्रतिशतमा लक्षणविहीन छन् ।
उनका अनुसार अधिकांश बिरामी ओमिक्रोनका भएकाले धेरै औषधि आदिको आवश्यकता पर्दैन । बाँकी ९ देखि १० प्रतिशतमा कोरोनाको लक्षण देखिएको छ । जसमध्ये ५०४ जना मात्र अस्पताल भर्ना भएका छन् । तीमध्ये ५६ जनालाई मात्र अस्पतालमा अक्सिजन बेड आवश्यक छ भने एक जना पनि आईसीयूमा भर्ना भएका छैनन् ।
चहलका अनुसार ९५ प्रतिशत संक्रमितले अस्पताल जानुपर्ने अवस्था नरहेको बताए । उनले भने, ‘केस धेरै देखिए पनि अस्पतालमा पहिलेको जस्तो दबाब छैन । हाल, मुम्बईका अस्पतालहरूमा ९० प्रतिशत बेड खाली छन्, जबकि अक्सिजनको आवश्यकता नगण्य छ ।’ ओमिक्रोनको पहिलो केस नोभेम्बर ११ मा दक्षिण अफ्रिकामा देखिएको थियो ।




