काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीले चार देशीय टी-२० शृंखला खेल्ने भएको छ । शृंखलामा नेपालसँगै ओमान, संयुक्त अरब इमिरेट्स (युएई) र आयरल्यान्ड सहभागी हुने नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ ।
नेपालले अक्टोबरदेखि अस्ट्रेलियामा सुरु हुने टी- २० विश्वकपका लागि अर्को महिना ग्लोबल छनोट खेल्दैछ । ओमानमा १७फेब्रुअरीबाट सुरु हुने छनोटको तयारीका लागि नेपालले चारदेशीय शृंखला खेल्न लागेको हो । शृंखलाको पहिलो खेलमा नेपाल ११ फेब्रुअरीमा घरेलु टोली ओमानविरुद्ध मैदान उत्रनेछ ।
१२ फेब्रअरीमा दोस्रो खेलमा युएईविरुद्ध र १४ फेब्रुअरीमा आयरल्यान्डसँगै खेल्नेछ । ग्लोबल छनोटको समूह ‘ए’ मा नेपालसँगै आयरल्यान्ड, फिलिपिन्स, क्यानडा, युएई, बहराइन, जर्मनी र आयोजक ओमान छन् । ग्लोबल छनोटका खेलहरु १७ देखि २४ फेब्रुअरीसम्म हुने तालिका छ ।




