काठमाडौं । नेपाल निवर्तमान उपकप्तान दीपेन्द्रसिंह ऐरी आईसीसी टी-२० वरीयाताको ब्याटिङतर्फ ५२ औँ स्थानमा उक्लिएका छन् । आईसीसी वरीयाताको ठूलो फड्को मारेका दीपेन्द्र यसअघि शीर्ष १०० भित्र पनि पर्न सकेका थिएनन् ।
ओमानमा सम्पन्न चारदेशीय टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा उत्कृष्ट प्रदर्शन गरेपछि दीपेन्द्रको वरीयातामा सुधार आएको हो । दीपेन्द्रले तीन खेलमा एक अर्धशतकसहित १४२ रन बनाएका थिए ।
चारदेशीय शृंखलमा दीपेन्द्र सबभन्दा धेरै रन बनाउने खेलाडी हुन् । दीपेन्द्रले ओमानविरुद्धको पहिलो खेलमा अविजित ७३ रन बनाएका थिए । आईसीसीले मंगलबार सार्वजनिक गरेको नयाँ वरीयतामा नेपालका ओपनर कुशल भुर्तेल ६५ औँ स्थानमा यथावत रहेका छन् ।
ब्याटिङतर्फ पाकिस्तानका बाबर आजम पहिलो स्थानमा छन् । पाकिस्तानकै मोहम्मद रिजवान दोस्रो स्थानमा छ । दक्षिण अफ्रिकाका एइडेन मारक्रम तेस्रो स्थानमा छन् ।नेपालका कप्तान सन्दीप लामिछाने बलिङतर्फ वरीयाताको ६३ औँ स्थानमा छन् ।
टी-२० अन्तर्राष्ट्रिय क्रिकेटको बलिङतर्फ दक्षिण अफ्रिकाका तावरेज सम्सी शीर्ष स्थानमा उक्लिएका छन् । अस्ट्रेलियाका जोश हाज्लेउड दोस्रो स्थानमा झरेका छन् । श्रीलंकाका वानिन्डु हसरंगा तेस्रो स्थानमा छन् ।




