एजेन्सी । भारतीय अभिनेत्री राखी सावन्तले विवाह गरेकी छन् । उनले आफ्नो प्रेमी आदिल दुर्रानीसँग कागजी विवाह गरेकी हुन् । अहिले राखी र आदिलको विवाहका तस्बिर सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।
राखीले आफ्नो इन्स्टाग्राम अकाउन्टमा विवाहका केही तस्बिर र भिडिओ समेत सार्वजनिक गरेकी छन् । तर उनीहरूले कहिले विवाह गरेका थिए भनेर खुलाएका छैनन् । उनीहरू पछिल्लो समय एकसाथ देखिँदै आएका थिए ।
राखीले भारतीय सञ्चारमाध्यममा आदिललाई आफ्नो प्रेमीको रूपमा परिचित गराएकी थिइन् । उनीहरूले आफू प्रेम सम्बन्धमा रहेको कुरा बताए पनि विवाह बारे खुलेर कुरा गरेका थिएनन् ।
भारतीय सञ्चारमाध्यम टेलिटक इन्डियाका अनुसार आदिलले विवाहको खबर झुटो रहेको बताएका छन् । सोही सञ्चारमाध्यमसँग कुराकानी गर्दै राखीले विवाह भएको जानकारी दिएकी छन् ।
सार्वजनिक तस्बिरमा राखीले सेतो र गुलाबी रंगको शरारा लगाएकी छन् । आदिल शर्ट र पाइन्टमा देखिएका छन् । राखीले यसअघि रितेश पाण्डेसँग विवाह गरेकी थिइन् ।
राखी र रितेश ‘बिग बोस १५’मा एकसाथ देखिएका थिए । शोबाट बाहिर आएको केही समयपछि उनीहरूको सम्बन्धविच्छेद भएको थियो । राखी सावन्त भारतीय अभिनेत्री तथा मोडल हुन् ।




