काठमाडौं । अभिनेता सारुक ताम्राकारको ‘सुसाइड नोट’ भेटिएको छ । असार २१ मा रातोपुलस्थित आफ्नै घरमा मृत भेटिएका ३१ वर्षीय अभिनेता सारुक ताम्राकारको मोबाइल फोनको ल्याब परीक्षणबाट उनले छाडेको सुसाइड नोट भेटिएको हो ।
सुसाइड नोटमार्फत उनले आफ्नो मृत्युमा कसैलाई दोष नदिन प्रहरीलाई सम्बोधन गरेर आग्रह समेत गरेका छन् । कसैलाई विवादमा नल्याउन पनि उनले भनेका छन् ।
प्रहरी प्रधान कार्यालयमा रहेको डिजिटल फरेन्सिक ल्याबमा भएको परीक्षण रिपोर्ट आएको र त्यसकै आधारमा सारुकको मृत्यु बारे थप अनुसन्धान भइरहेको काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी दान कार्कीले बताए ।
बाबुआमा पार्टीमा गएका बेला उनी घरकै छिँडिमा पासो लगाएको अवस्थामा मृत फेला परेका थिए । सारुक कलाकार सानु ताम्राकारका छोरा हुन् । मृत्यु हुनु अघिसम्म उनी फिल्म ‘ह्यासट्याग माया’मा अभिनय गरिरहेका थिए ।
फिल्मका मुख्य अभिनेता सारुक बिहिबार बिहान पनि फिल्मको सुटिङ गरेर घर फर्किएका थिए । सारुकले ‘इन्टु मिन्टु लन्डनमा’, ‘मेरी मामु’, ‘रानी’, ‘नमरी बाचे’लगायत फिल्ममा अभिनय गरेका थिए ।




