एजेन्सी । पपस्टार ब्रिट्नी स्पेअर्सको पति साम अस्गरीसँग सम्बन्धविच्छेद हुने भएको छ । विवाहको १४ महिनापछि आफूहरूले सहयात्रा टुंग्याउने निर्णय गरेको अस्गरीले सार्वजनिक गरेका हुन् ।
यो जोडीले ‘सम्झौता गर्न नसकिने मतभिन्नता’का कारण सम्बन्धविच्छेदका लागि निवेदन दिएसँगै सहयात्रा टुंगिनेतर्फ अघि बढेको हो । स्पेअर्स ४१ वर्षकी छन् भने अस्गरी २९ वर्षका छन् ।
उनीहरूबीच सेप्टेम्बर २०२१ मा इन्गेजमेन्ट भएको थियो भने जुन २०२२ मा विवाह भएको थियो । तर, उनीहरूले साथमा ६ वर्ष बिताए । उनीहरुको विवाहमा समस्या रहेको अमेरिकी ट्याबलोइडहरूले बताउँदै आएका थिए ।
स्पेयर्सको ‘बेबी वन मोर टाइम’ गीत सार्वजनिक भएपछि उनी संसारभर लोकप्रिय भएकी थिइन् । उनी १६ वर्षको उमेरमै सुपरस्टार बनेकी थिइन् । यही अक्टोबरमा स्पेअर्सको आत्मकथा ‘दी वुमन इन मी’ पनि प्रकाशित हुँदैछ । स्पेयर्सको यो तेस्रो विवाह थियो ।
यसअघि उनले सन् २००४ मा जेसन अलेक्जेन्डरसँग विवाह गरेकी थिइन् । तर, विवाह गरेको ५५ घण्टामै उनले रद्द गरेकी थिइन् । स्पेअर्सको दोस्रो विवाह ¥यापर केभिन फेडरलाइनसँग भएको थियो । जुन तीन वर्ष टिकेको थियो । उनीहरूका दुई सन्तान पनि छन् ।




