काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेको आज पनि भिसाको काम अघि नबढ्ने भएको छ । अमेरिकामा आज ‘मेमोरियल डे’ परेको छ । हरेक वर्षको मे २७ तारिखका दिन मेमोरियल डे मनाउने भएकाले सबै देशका कूटनीतिक नियोगहरूमा सार्वजनिक बिदा दिइएको छ ।
काठमाडौंस्थित अमेरिकी दूतावासमा पनि बिदा भएकाले क्रिकेटर सन्दीपको भिसाको प्रक्रिया अघि नबढ्ने भएको हो । पहिलो पटक भिसा रिजेक्ट भएपछि पुनः सन्दीपले प्रक्रिया अघि बढाएका छन् ।
तर अहिलेसम्म सरकारले कूटनीतिक नोट नै जारी नगरेकाले सन्दीपले अमेरिका र वेस्ट इन्डिजमा आयोजना हुन लागेको आईसीसी टी-२० विश्वकप गुमाउने खतरा बढ्दै गएको छ ।
नेपाली टिम अमेरिका प्रस्थान गर्दा अदालतमा मुद्दा विचाराधीन रहेकाले उनको प्रक्रिया अघि बढेको थिएन । उच्च अदालतबाट सफाइ पाएपछि २०२५ सम्मको पहिलाको भिसा भएकै कारण क्यानले टिकट समेत व्यवस्था गरि सकेको थियो भने उनको जर्सी लगायतका कुराहरू प्रिन्ट पनि भइसकेका थिए ।
फिटनेस टेस्टसमेत दिएका सन्दीप खेल्नलाई योग्य भनेर जाने तयारी गर्दा अघिल्लो दिन मात्रै उनको एक वर्ष अघि भिसा रद्द भएको इमेल पाएका थिए । त्यसपछि प्रक्रिया पूरा गरेर अन्तर्वार्ता दिन गएका सन्दीपलाई अमेरिकी दूतावासले भिसा रिजेक्ट गरेको थियो ।




