काठमाडौं । फिफा विश्वकप छनोट अन्तर्गत युएईसँगको दोस्रो खेलमा नेपाल ४-० ले पराजित भएको छ । पहिलो हाफमा २ गोल खाएको नेपालले दोस्रो हाफमा थप २ गोल खाएको थियो ।
यसअघि नै विश्वकप छनोटको दोस्रो चरण र एसिया कप २०२७ मा स्थान बनाइसकेको युएईले नेपाल विरुद्ध बिहीबार राति अर्को प्रभावशाली जित निकालेको हो ।
नेपालले भने सिमित अवसरमा गोल गर्न सकेन । लगातार दुई प्रहार पोलमा लाग्दा नेपाल सम्भावित गोलको अवसरबाट बञ्चित भयो । नेपालको अन्तिम खेल बाँकी हुँदा अहिलेसम्म विपक्षीविरुद्ध गोल गर्न सकेको छैन् ।
बिहीबार नेपाललाई हराउने क्रममा पहिलो हाफमा हरिब अब्दुल्लाह अलमुसाहारीले २ गोल गर्दा दोस्रो हाफमा अली साले अम्रो र सब्सटिच्युटहजीम अब्बासले समान १/१ गोल गरेका थिए ।
हरिबले १२ औं मिनेटमा पहिलो गोल गर्दा १४ औं मिनेटमा दोस्रो गोल गरेका थिए । तेस्रो गोल अलीले ५३ औं मिनेटमा गर्दा अर्को गोल भने अब्बासले मध्य भाग भन्दा केही अघिबाट गरेको प्रहार गोलमा परिणत भएको थियो ।
यसअघि पहिलो लेगमा पनि नेपाल ४-० ले पराजित भएको थियो । यो हारसँगै नेपालले विपक्षी टोलीबाट कुल १८ गोल खाँदा विपक्षी पोस्टमा भने गोल गर्न सकेको छैन् । नेपालले पहिलो चरणमा समग्रमा लाओसलाई २-१ ले हराउँदै दोस्रो चरणमा स्थान पक्का गरेको थियो ।




