एजेन्सी । आइसीसी टी-२० विश्वकपमा अस्ट्रेलियाका तीव्र गतिका बलर प्याट कमिन्सले लगातार ह्याट्रिक विकेट लिएका छन् । सुपर आठ अन्तर्गत अफगानिस्तानविरुद्ध जारी खेलमा उनले ह्याट्रिक विकेट लिएका हुन् । यसअघि उनले बंगलादेशविरुद्ध पहिलोपल्ट ह्याट्रिक विकेट लिएका थिए ।
१८ औं ओभरको अन्तिम बलमा राशिद खानलाई उनले डेभिड वार्नरबाट क्याच आउट गराएका थिए । २० औं ओभरको पहिलो बलमा करिम जनत र दोस्रो बलमा गुलबदीन नइबको विकेट लिँदै कमिन्सले ह्याट्रिक पूरा गरे । ४ ओभर बलिङ गरेका उनले २८ रन खर्चिए । योसँगै कमिन्स टी-२० विश्वकपमा लगातार दोस्रो पटक ह्याट्रिक विकेट लिने पहिलो खेलाडी बनेका छन् ।
बंगलादेशविरुद्ध उनले १८ औं ओभरको पाँचौं बलमा महमुदउल्लाह र छैटौं बलमा महेदी हसनको विकेट लिएका थिए । यस्तै २० औं ओभरको पहिलो बलमा मोहम्मद तौहीद हृदोयको विकेट लिँदै ह्याट्रिक पूरा गरेका थिए । उक्त खेलमा ४ ओभर बलिङ गरेका उनले २९ रन खर्चिएका थिए ।




