एजेन्सी । टी-२० विश्वकप क्रिकेटको उपाधि भारतले जितेको छ । फाइनलमा विश्वकप क्रिकेटको अभागी टिम दक्षिण अफ्रिकालाई ७ रनले पराजित गर्दै भारतले उपाधि जितेको हो ।
समूह चरणमा दक्षिण अफ्रिकाले नेपालमाथि मात्र एक रनको जित हासिल गरेको थियो । त्यस्तै बंगलादेशलाई ४ रनले हराएको थियो । भाग्यशाली हुँदै पहिलो पटक फाइनलमा पुगेपनि भारतमाथि भने दक्षिण अफ्रिकाले जित हासिल गर्न सकेन ।
फाइनलमा टस जितेर पहिले ब्याटिङ गरेको भारतले ७ विकेटको क्षतिमा १७६ रन बनायो । विराट कोहलीले ५९ बलमा ७६ रन बनाए । कोहलीसँग चौथो विकेटका लागि ७२ रनको साझेदारी गर्ने क्रममा अक्षर पटेलले ३१ बलमा ४७ रन बनाए ।
त्यस्तै, पाँचौँ विकेटका लागि कोहलीसँग ५७ रनको साझेदारी गर्ने क्रममा शिवम दुबेले १६ बलमा २७ रन बनाए । केशव महाराज र एन्रिच नोट्जेले २/२ विकेट लिए । जवाफमा दक्षिण अफ्रिकाले ८ विकेटको क्षतिमा १६९ रन बनाउन सक्यो ।
दक्षिण अफ्रिकाका लागि हेन्रिच क्लासेनले २७ बलमा ५२ रन बनाए पनि टिमलाई जिताउन सकेनन् । भारतका लागि हार्दिक पाण्डेयाले ३ तथा अर्शदीप सिंह र जसप्रित बुमराहले २/२ विकेट लिए ।
भारतले दोस्रो पटक टी-२० विश्वकपको उपाधि जितेको हो । यसअघि भारतले टी-२० विश्वकपको पहिलो संस्करण सन् २००७ मा जितेको थियो ।




