काठमाडौं । विशेष अदालतले गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको अभियोगमा वाग्मती नगर जग्गा एकीकरण आयोजना गौरीघाटमा करारमा अमिन पदमा कार्यरत दिनेशप्रसाद यादवलाई दोषी ठहर गरेको छ ।
शेष अदालत काठमाडौंका अध्यक्ष सुदर्शनदेव भट्ट तथा सदस्यहरू उमेश कोइराला र विदुर कोइरालाको इजलासले उक्त फैसला सुनाएको हो । अदालतले यादवलाई १ वर्ष कैद र गैरकानुनी रूपमा आर्जन गरेको देखिएको १ करोड १२ लाख ७० हजार ६ सय ६८ रुपैयाँ ६२ पैसा बराबर नै जरिवाना हुने फैसला सुनाएको छ ।
साथै स्रोत नखुलेको बिगो बराबरको उनको घर तथा जग्गा लगायतका सम्पत्तिहरू जफत हुने फैसलामा उल्लेख छ । यादवले अपराध पीडित संरक्षण ऐन बमोजिम पीडित राहत कोषमा ४ लाख ५० हजार ८ सय २६ रुपैयाँ दाखिला गर्नुपर्ने छ । अदालतले यादवको जाँच अवधि (मिति २०६३/०५/०८ देखि २०८१/०३/३० सम्म) को समग्र आय र व्ययको विश्लेषण गरेको थियो ।
सो अवधिमा यादवको वैध आय ४ करोड २५ लाख ९२ हजार ९ सय ५१ रुपैयाँ ३० पैसा देखिएको छ भने उनको खर्च र लगानी (व्यय) ५ करोड ३८ लाख ६३ हजार ६ सय १९ रुपैयाँ ९२ पैसा पुगेको देखिएको छ ।
यसरी उनको वैध आयको तुलनामा १ करोड १२ लाख ७० हजार ६ सय ६८ रुपैयाँ ६२ पैसा बराबरको सम्पत्तिको स्रोत नखुलेको र सो रकम गैरकानुनी रूपमा आर्जन गरेको अदालतको ठहर छ ।






