काठमाडौं । काठमाडौं महानगरपालिका १० शंखमुलस्थित एक होस्टलमा धारिलो हतियार प्रहारबाट २२ वर्षीय युवकको मृत्यु भएको छ । शुक्रबार बिहान भ्याली ब्वाइज होस्टलमा भएको आक्रमणमा दाङको घोराही उपमहानगरपालिका १७ घर भएका वसन्त कालाखेतीको मृत्यु भएको हो ।
प्रहरीका अनुसार बिहान करिब १० बजे कालाखेतीमाथि दुई जनाले धारिलो हतियार प्रहार गरेका थिए । आक्रमणबाट गम्भीर घाइते भएका उनलाई उपचारका लागि सिभिल अस्पताल लगिएको थियो ।
उपचारकै क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक एसपी दानबहादुर थापाले जानकारी दिए । घटनामा संलग्न रहेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा बाराको कलैया उपमहानगरपालिका ३ घर भएका शेखर यादव रहेका छन् । प्रहरीका अनुसार घटनामा संलग्न भनिएका अर्का व्यक्ति भने फरार छन् । उनको खोजी भइरहेको छ ।
घटनाबारे थप अनुसन्धानका क्रममा प्रहरीले होस्टलमा बस्दै आएका अन्य ३–४ जनासँग समेत सोधपुछ गरिरहेको एसपी थापाले बताए । घटनाको कारण तथा हत्यामा संलग्न अन्य व्यक्तिको भूमिकाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।






