काठमाडौं । सामाजिक सहिष्णुतामा आघात पुर्याउने तथा विभिन्न जातजातिलाई लक्षित गरी होच्याउने र अपमानित गर्ने अभिव्यक्ति समेटिएको भिडियो सामाग्री सामाजिक सञ्जालमा प्रसारण गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा काठमाडौंको चन्द्रागिरी नगरपालिका १२ बलम्बु बस्ने बैतडीको सुर्नया गाउँपालिका ७ घर भएका २४ वर्षीय बिरेन्द्र मडै रहेका छन् । उनलाई साइबर ब्यूरोबाट खटिएको प्रहरीले आइतबार पक्राउ गरेको हो ।
प्रहरीका अनुसार मडैले भोटेकोशीमा आएको बाढीबाट भएको जनधनको क्षतिसम्बन्धी विषयमा विभिन्न जातजातिलाई लक्षित गरी होच्याउने, अपमानित गर्ने तथा उक्त विपत्तिमा खुशी व्यक्त गर्ने खालको भिडियो सामाग्री तयार गरी सामाजिक सञ्जाल फेसबुकको रिल्समा प्रसारण गरेका थिए ।
प्रहरीले पछिल्लो समय सामाजिक सञ्जालमार्फत गलत सूचना, अफवाह तथा भ्रामक समाचार सामाग्री प्रसारण गर्ने, साथै संवेदनशील अवस्थामा पीडामा रहेका व्यक्तिहरूले व्यक्त गरेका विचारमाथि अनावश्यक टिप्पणी गरी उनीहरूलाई होच्याउने र थप पीडा दिने गतिविधिको निगरानी गर्दै त्यस्ता कार्यमा संलग्नलाई कानुनी दायरामा ल्याउने कार्यलाई तीव्र बनाएको जनाएको छ ।
नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक अबि नारायण काफ्लेका अनुसार बाढीका कारण भएको मानवीय तथा भौतिक क्षतिको दु:खद् अवस्थामा विभिन्न व्यक्ति, समूह तथा अराजक मानसिकता भएका व्यक्तिहरूले हृदयविदारक तथा विभत्स तस्बिर र भिडियो सामाजिक सञ्जालमा पोस्ट गरी पीडित तथा सर्वसाधारणमा थप पीडा र त्रास फैलाउने तथा सामाजिक सहिष्णुतामा आघात पुर्याउने गतिविधि गरिरहेको पाइएको छ ।
यस्ता गतिविधि नियन्त्रण गर्न प्रहरी थप सचेत भई निरन्तर काम गरिरहेको काफ्लेले बताएका छन् । प्रहरीका अनुसार पछिल्लो तथ्यांकमा फेसबुकमा १६८ वटा, टिकटकमा चारवटा र इन्स्टाग्राममा एउटा गरी कुल १७३ वटा गलत सूचना तथा अफवाहजन्य सामग्री प्रसारण भएको पाइएको छ ।
तीमध्ये फेसबुकका ७९ वटा र टिकटकका चारवटा गरी ८३ वटा सामाग्री साइबर सक्रियतामार्फत सामाजिक सञ्जालबाट हटाइएको प्रहरीले जनाएको छ । यस्ता सामाग्रीको निगरानी गरी तत्काल हटाउन तथा त्यस्ता गतिविधि नियन्त्रण गर्न साइबर ब्यूरोका प्रहरी नायब उपरीक्षक गजेन्द्र आचार्यको संयोजकत्वमा १० सदस्यीय समिति गठन गरिएको छ ।
समितिले सामाजिक सहिष्णुतामा आघात पुर्याउने गतिविधिमा संलग्न व्यक्तिको पहिचान तथा अनुसन्धान गरी सम्बन्धित प्रहरी कार्यालय वा सरोकारवाला निकायसँग समन्वय र सहकार्य गर्दै कानुनी कारबाही अघि बढाउनेछ ।
समितिका संयोजक प्रहरी नायब उपरीक्षक आचार्यका अनुसार सामाजिक सञ्जालमार्फत गलत सूचना, अफवाह तथा भ्रामक समाचार प्रसारण गर्ने व्यक्तिलाई तत्काल कानुनी दायरामा ल्याउन समिति सक्रिय रूपमा काम गरिरहेको छ ।
उनका अनुसार अनजानमा सामाग्री पोस्ट वा सेयर गरेका व्यक्तिलाई सामाग्रीको गम्भीरता हेरी सचेत गराउने र त्यस्ता सामाग्री हटाउन लगाउने कार्य समेत भइरहेको छ । विपद्को नाममा हुन सक्ने अपराध तथा गलत सूचना नियन्त्रणसँगै विपद्को मौका छोपी राहत संकलनका नाममा हुन सक्ने ठगी नियन्त्रण गर्न पनि नेपाल प्रहरी सक्रिय रहेको जनाएको छ ।
नेपाल प्रहरीले सामाजिक सञ्जालमार्फत प्रवाह हुने गलत सूचना, अफवाह तथा भ्रामक समाचार सामाग्रीको निगरानीलाई थप तीव्र बनाउँदै सामाजिक सहिष्णुतामा आघात पुर्याउने गतिविधिमा संलग्नलाई कानुनी दायरामा ल्याउने प्रतिबद्धता जनाएको छ ।




