जनकपुरधाम । भ्रष्टाचारसम्बन्धी उजुरीमा मधेश प्रदेश पहिलो स्थानमा परेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदनअनुसार सातवटै प्रदेशमध्ये मधेश प्रदेशसँग सम्बन्धित सबैभन्दा बढी उजुरी दर्ता भएका छन् ।
आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार गत आर्थिक वर्षमा सातवटै प्रदेशसँग सम्बन्धित कुल ५ हजार ३०५ वटा उजुरी दर्ता भएका थिए । तीमध्ये मधेश प्रदेशसँग सम्बन्धित उजुरीको संख्या १ हजार ४७५ रहेको छ । यो कुल उजुरीको २७ दशमलव ८० प्रतिशत हो ।
प्रदेशगत रूपमा हेर्दा सबैभन्दा कम उजुरी गण्डकी प्रदेशसँग सम्बन्धित रहेको आयोगको प्रतिवेदनमा उल्लेख छ । गण्डकी प्रदेशविरुद्ध ४०७ वटा उजुरी दर्ता भएका छन्, जुन कुल उजुरीको ७ दशमलव ६७ प्रतिशत हो ।
मधेश प्रदेशमा भौतिक पूर्वाधार तथा यातायात क्षेत्रसँग सम्बन्धित उजुरीको संख्या सबैभन्दा बढी रहेको अख्तियारले जनाएको छ । त्यसैगरी भूमि तथा अन्य विभिन्न १० वटा मन्त्रालय तथा क्षेत्रसँग सम्बन्धित उजुरी पनि उल्लेख्य रहेको आयोगको प्रतिवेदनमा उल्लेख छ ।
अख्तियारले प्रदेश सरकार तथा मातहतका निकायमा हुने कामकारबाहीसँग सम्बन्धित उजुरीमाथि छानबिन तथा अनुसन्धान गर्दै आएको छ । चालु आर्थिक वर्षमा समेत प्रदेश तथा स्थानीय तहका सार्वजनिक निकायमा हुने अनियमितता र भ्रष्टाचारसम्बन्धी उजुरी आयोगको निगरानीमा रहने अख्तियारले जनाएको छ ।




