एजेन्सी । अभिनेता दिलजीत दोसाँझ र शहनाज गिलको चलचित्र ‘हौसला रख’ ले बक्स अफिसमा लगातार आम्दानी गरिरहेको छ । शुक्रबार फिल्मले ५.१५ करोडको आम्दानी गरेको छ । दोस्रो दिन शनिबार ५.८५ करोड र आइतबार ६.५० करोड आम्दानी गरेको छ ।
पहिलो विकेन्डमा नै चलचित्रले १७.५ करोड आम्दानी गरिसकेको छ । दिलजीत र शहनाजको यो पहिलो सहकार्य हो । प्रेमी सिद्धार्थ शुक्लाको निधनपछि शहनाज पहिलो पटक पर्दामा देखिएकी हुन् ।
चलचित्रको प्रमोसनको समय शहनाजको प्रसंसा गर्दै दिलजीतले भनेका थिए, ‘चलचित्रका लागि शहनाजले धेरै मेहनत गरेकी छिन् । धेरैले शहनाजले चलचित्र गर्न सक्छिन् र ? भनेर प्रश्न गरेका थिए । उनको आफ्नै स्वभाव र तरिका छ । दर्शकलाई प्रभावित बनाउन उनी सक्षम छिन् ।
अभिनेता सिद्धार्थ शुक्लाको करिब एक महिना अघि हृदयघातका कारण ४० वर्षको उमेरमा निधन भएकाे थियाे । सिद्धार्थको निधनपछि उनको परिवार, साथीभाइसँगै शहनाज गिल पनि गहिरो पीडामा परिन् । सिद्धार्थको निधनपछि शहनाज सामाजिक सञ्जालमा पनि त्यति सक्रिय थिइनन् ।




