एजेन्सी । ड्रग्स केसमा फसेका आर्यान खानलाई जेलमा दिन बिताउन समस्या भइरहेको छ । आर्यानले करिब १४ दिनपछि आज (बिहीबार) बिहान पिता शाहरुख खानसँग भेट्न पाए । बाबु छोराबीच करिब १५ मिनेट भएको भेटघाटमा दुवै निकै भावुक भएका थिए । भारतीय सञ्चार माध्यमका अनुसार आर्थर रोड जेलमा पितालाई देखेपछि आर्यान रोएका थिए ।
स्रोतका अनुसार जब शाहरुख आफ्नो छोरासँग भेटिरहेका थिए, त्यहाँ ३ जेल सुरक्षाकर्मी पनि सहभागी थिए । उनीहरुले इन्टरकम मार्फत् कुराकानी गरेका थिए । दुवैको बीचमा ग्रिल र ग्लासको बार थियो । कुराकानीका क्रममा शाहरुखले राम्रोसँग खाना खाइरहेका छौ ? भनेर आर्यानलाई सोधेका थिए ।
आर्यानले जेलको खाना मन नपरेको बताए । जेलको खाना उनलाई मन पर्दैन । उनी दिनभर पानी र नास्ताको भरमा बसिरहेका छन् ।
त्यसपछि शाहरुखले छेउमा रहेका जेलका अधिकारीलाई घरको खाना दिन मिल्छ कि मिल्दैन भनेर सोधेका थिए । जेल अधिकारीले घरको खाना दिनका लागि अदालतबाट स्वीकृति लिनुपर्ने बताए । यस्तै शाहरुखले भेटमा चिन्ता नगर्न भन्दै आर्यानको हिम्मत बढाउने कोसिस गरे ।
यसअघि कोभिड १९ प्रोटोकलका कारण कैदीका परिवारले तथा आफन्तलाई आमने सामने बसेर कुराकानी गर्ने अनुमति थिएन । हिजो बुधबारबाट यो नियम हटाएपछि शाहरुखले आर्यानलाई भेट्न पाएका हुन् । आर्यानको जमानत निवेदन सेसन्स अदालतले बुधबार खारेज गर्यो । अब मंगलबार अर्थात् २६ अक्टोबरमा आर्यानको जमानतमाथि मुम्बई उच्च अदालतमा सुनुवाई हुनेछ ।




