एजेन्सी । शाहरूख खानका छाेरा आर्यान खान जमानत र जेल बिच फसेका छन् । उनको केसमा दिनहुँजसो नयाँ नयाँ ट्वीस्ट आइरहेको छ । ड्रग्स केसमा आर्यानपछि अब अनन्या पाण्डे पनि समस्यामा पर्दै गएको देखिन्छ ।
ड्रग्सबारे अनन्या र आर्यानबीच भएको नयाँ च्याटको खुलासा भएको छ, जसमा ड्रग्स लेनदेनका विषयमा कुरा भएको एनसीबीको दाबी छ । आर्यान र अनन्याको ह्वाट्स्याप च्याटमा ‘भोलि कोकिन’ भन्दै आर्यानले प्रस्ताव गरेको देखिन्छ ।
आर्यानको जमानत निवेदनमाथि दुई दिनदेखि उच्च अदालतमा सुनुवाई चलिरहेको छ । आज फेरि एक पटक जमानतमा सुनुवाई भएको छ । यस्तोमा धेरै मानिसमा आर्यान छुट्छन् त भन्ने जिज्ञासा छ ।
एनसीबीका वकिलले उच्च अदालतमा बहसको समय आर्यन खान लामो समयदेखि लागुऔषध सेवन गर्दै आएकाे र उनको कारोबारीसँग पनि सम्बन्ध कायम रहेको बताए । वकिल अनिल सिंहका अनुसार आर्यानले लामो समयदेखि ड्रग्सको कारोबार गरेको च्याटबाट खुलेको दाबी गरे । साथै उनले आर्यानलाई क्रूजमा ड्रग्स पार्टी हुँदै थियो भन्ने पनि जानकारी रहेको बताए ।
नारकोटिक्स कन्ट्रोल ब्यूरो (एनसिबी) ले ३ अक्टोबरमा मुम्बईबाट गोवा जाँदै गरेको एउटा क्रुजबाट आर्यानसहित आठ जनालाई पक्राउ गरेको थियो । यही घटनामा सोधपुछका आधारमा अहिलेसम्म २० जना पक्राउ परिसकेका छन् ।
शाहरूखको संघर्षपूर्ण अतीत र उनको करिअर उचाइ राम्ररी नियालेका प्रशंसकहरूलाई यो घटनाले दुःखी तुल्याए पनि धेरैले यसलाई सामान्य रूपमा लिएका थिए। भारत लगायत संसारभरि सेलेब्रिटी र तिनका सन्तान लागुपदार्थ दुर्व्यसनमा फस्नु नौलो कुरा होइन। बलिउडमै सञ्जय दत्तदेखि फरदिन खान र हालसालै दिपिका पादुकोणदेखि रणवीर सिंहसम्म लागुपदार्थ सेवन गरेको घटनामा मुछिइसकेका छन्।




