एजेन्सी । बलिउड अभिनेता शाहरूख खानका छोरा आर्यन जमानतमा रिहा भएका छन् । बम्बई उच्च अदालतले उनलाई बिहीबार जमानतमा रिहा गर्ने आदेश दिएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।
लागुपदार्थ मुद्दामा पक्राउ परेका उनी २० दिनदेखि मुम्बईको आर्थर जेलमा थिए । यसअघि दुईपटकसम्म आर्यनको जमानत अपिल खारेज भएको थियो । यसपालि उनको तर्फबाट भारतका चर्चित वकिल तथा पूर्व महान्यायाधिवक्ता मुकुल रोहतगीले बहस गरेका थिए ।
नार्कोटिक्स कन्ट्रोल ब्यूरो (एनसिबी) ले ३ अक्टोबरमा मुम्बईबाट गोवा जाँदै गरेको एउटा समुद्री जहाजबाट आर्यन सहित आठ जनालाई पक्राउ गरेको थियो ।
यही घटनामा सोधपुछका आधारमा अहिलेसम्म २० जना पक्राउ परिसकेका छन् । आर्यानसँगै अरबाज मर्चेन्ट, मुनमुन धमेचा पनि जमानतमा रिहा भएका छन् । शनिबारसम्म सबैजना रिहा हुने अपेक्षा गरिएको छ ।




