एजेन्सी । बलिउड अभिनेत्री कट्रिना कैफ निकै लामो समयदेखि आफ्नो विवाहका कारण चर्चामा छाइरहेकी छिन् । कट्रिना कैफ र विक्की कौशल निकै लामो समयदेखि एक–अर्कालाई डेट गरिरहेको भारतीय मिडियामा चर्चा छ ।
भारतीय मिडियाकाे रिपाेर्टलाई मान्ने हाे भने कट्रिना र विक्कीको विवाह राजस्थानमा हुँदैछ र यसका लागि तयारी जोडतोडका साथ अघि बढिरहेको छ । मिति पनि घाेषणा भइसकेकाे छ । कट्रिना कैफका प्रशंसक आखिर उनीहरुले किन विवाहबारे मुख खोलिरहेका छैनन् भनेर अचम्मित छन् ।
भारतीय सञ्चार माध्यम बलिउड लाइफको एक खबरलाई विश्वास गर्ने हो भने कट्रिना कैफ आफ्ना सह–कलाकार अक्षय कुमारका कारण विवाहको घोषणा गर्न सकिरहेकी छैनन् । खासमा कट्रिना कैफ आजकाल आफ्नो नयाँ फिल्म सूर्यवंशीको प्रोमोशनमा व्यस्त छिन् । यो फिल्म दिवालीमा रिलिज हुँदैछ । फिल्म सूर्यवंशीमा अक्षय कुमार पनि छन्, जसले प्रहरी अधिकारीको भूमिका निभाइरहेका छन् । फिल्मका धेरैजसो दृश्य अक्षय कुमारमाथि छायांकन गरिएको छ जसका कारण फिल्मका निर्माता उनलाई प्रामोसनका लागि शीर्ष स्थानमा राखिरहेका छन् ।
खबरका अनुसार यदि कट्रिना कैफ फिल्म सूर्यवंशीको रिलिज अघि आफ्नो विवाहबारे घोषणा गर्छिन् भने मिडियाको ध्यान सूर्यवंशी र अक्षय कुमारबाट डाइभर्ट हुनेछ । यस्तोमा निर्माताले भारी क्षती व्यवहोर्नुपर्ने सम्भावना छ । विवाहका चर्चाका कारण मानिसहरु पहिला नै अक्षय कुमारभन्दा कट्रिना कैफबारे कुरा गरिरहेका छन्, त्यसैले पनि निर्माता कुनै जोखिम उठाउन चाहँदैनन् ।
फिल्म सूर्यवंशी कोरोना भाइरस महामारीका कारण रोकिएको थियो जसलाई दिवालीमा दर्शकको अगाडि ल्याइनेछ । धेरैले सूर्यवंशी सिनेमा घरमा हिट हुने अनुमान गरेका छन् ।




