एजेन्सी । बलिउड अभिनेता शाहरुख खानका छोरा आर्यन खान अन्ततः २७ दिनपछि जेलबाट बाहिर निस्किएका छन् । क्रुज ड्रग्स केसमा जेल पुगेका आर्यन खान आर्थर रोडबाट निस्किएका छन् । आर्यन खानलाई लिन शाहरुख खानका बडीगार्ड रवि पुगेका थिए । उनी आर्यनलाई लिएर जेलबाट बाहिर निस्किसकेका छन् ।
जमानतपछि आर्यन जेलबाट बाहिर आएपनि उच्च न्यायालयले उनलाई विभिन्न शर्तसहित जमानत दिएको छ । यसकाे पालना आर्यन खानले जेलबाहिर पनि गर्नुपर्नेछ ।
उनी अदालतबाट अनुमति नलिई देशबाहिर जान सक्ने छैनन्, पासपोर्टलाई स्पेशल एनडीपीएस कोर्टलाई सुम्पिनुपर्ने छ । आर्यन यस्ता खालका अपराधमा पुनः समावेश हुने छैनन्, केसमा जाँच अधिकारीको जानकारी बिना मुम्बई बाहिर जान पाउने छैनन्, सह–आरोपीसँग सम्पर्क स्थापित गर्न पाउने छैनन् आर्यनले ।
यस्तै उनले कारवाहीबारे सोसल मिडिया वा मिडियामा कुनै बयान दिन पाउने छैनन्, हरेक शुक्रबार बिहान ११ देखि अपरान्ह २ बजेका बीच एनसीबीको कार्यालयमा उपस्थित भनेर दर्ता गराउनुपर्ने, सुनुवाईका बेला अदालतमा पेश हुने, एनसीबीले बोलाउँदा कार्यालय पुग्ने, मुद्दामा कुनै प्रकारको ढिलाई गर्ने कोसिस नगर्ने लगायतका शर्तहरू आर्यनले पालना गर्नु पर्नेछ ।




