काठमाडौं । अभिनेत्री पूजा शर्माले कुनै पनि प्रमाण नभेटेसम्म त्यसबारे नलेखिदिन आग्रह गरेकी छिन् । कला वृत्तमा तातिरहेको पल–समिक्षा गसिपबारे बोल्दै अभिनेत्री पूजाले नबुझि नलेखिदिन आग्रह गरेकी हुन् ।
एक कार्यक्रममा पल–समिक्षा काण्डबारे बोल्दै पूजाले भनिन्, ‘ प्रमाण छ भने मात्रै कसैको बारेमा लेख्नुहोला । कसैको करिअरमा असर गर्नु भनेको एकदमै नराम्रो हो । पलले यो क्षेत्रमा निकै संघर्ष गरेको छ । त्यस्तो समाचारले उसलाई निकै असर पुर्याएको छ, काममा ध्यान दिन सकिरहेको छैन । बलिउडमा कति कलाकारहरुले आत्महत्या गरिरहनु भएको छ । मरिसकेपछि तारिफ गरेर के फाइदा ?’
समिक्षाको पनि समर्थन गर्दै पूजाले भनिन्, ‘ उसकाे भविष्यको सुरुवात भर्खरै हुँदैछ । धेरै माया पाएको छ । यी नचाहिँदा समाचारहरूले त्यो बच्चालाई कस्तो असर गर्यो होला ? अहिले सबैले उनीहरूलाई सपोर्ट गर्न जरुरी छ ।’
यस्तै हाँस्य कलाकार जितु नेपालले कलाकारले आफूलाई सकभर बचाएर हिँड्नुपर्ने बताए ।
कला वृत्तमा अहिले पल-समिक्षा अधिकारीकाे अफेयर, सम्बन्धकाे चर्चा चलिरहेकाे छ । यद्यपी दुवैले आफूहरु सम्बन्धमा नरहेको, कुनै गलत काम नगरेको दाबी गर्दै आएका छन् । केहि दिनअघि पलले सामाजिक सञ्जाल फेसबुकमा लाइभ आएर आफूलाई फसाउन धेरै जना लागि परेको बताएका थिए ।
उनले भनेका छन्, ‘मलाई फसाउन हात धोएर लागिरहेका छन् । पल धेरै उम्लियो, त्यसलाई जिरो बनाइदिऊँ भनेको सुनेको छु । देशबाटै हटाइदिऊँ भन्नेहरु पनि छन् रे । मलाई केही छैन, तपाईँ दर्शकहरु हुनुहुन्छ साथमा । एक्लै आएको हो म, एक्लै नै लड्छु । संघर्ष गर्न अझै धेरै बाँकी छ । म डराएको छैन । रे को पछि नलागिदिनु होला ।’




