काठमाडाैं । सीबीआईले अभिनेता सुशान्त सिंह राजपुतको मृत्युको अनुसन्धानका लागि अमेरिकासँग सहयोग मागेको छ ।
सीबीआईले अमेरिकी कम्पनी गुगल र फेसबुकसँग सुशान्त सिंह राजपूतको सामाजिक सञ्जाल खाता र इमेलहरूमा मेटाइएको डाटा पुन: प्राप्त गर्न मद्दत मागेको हाे, ताकि विगतमा उनको मृत्युसँग सम्बन्धित कुनै सुराकहरू बुझ्न सकियाेस् ।
अङ्ग्रेजी पत्रिका ‘हिन्दुस्तान टाइम्स’ले यस सम्बन्धमा जानकारी भएका व्यक्तिबाट प्राप्त जानकारीका आधारमा यो समाचार दिएको हो ।
सुशान्त सिंह राजपुतको शव १४ जुन २०२० मा मुम्बईको बान्द्राको उनको घरमा भेटिएको थियो । सुशान्त सिंहको मृत्युको मामिलामा उनकी प्रेमिका तथा अभिनेत्री रिया चक्रवर्ती सहित उनको परिवारलाई आरोप लगाइएको थियो । तर, रिया चक्रवर्तीले सबै आरोप अस्वीकार गर्दै आएकी छिन् ।
अखबारका अनुसार सीबीआईले गुगल र फेसबुकसँग पारस्परिक कानूनी सहायता सन्धि (एमएलएटी) अन्तर्गत सुशान्त सिंहको च्याट, इमेल वा पोस्टहरू मेटाइएको बारे जानकारी मागेको छ ताकि तिनीहरूको अनुसन्धान गर्न सकियोस् ।
भारत र अमेरिकाबीच भएको पारस्परिक कानूनी सहायता सन्धिका कारण दुवै देशले आन्तरिक मामिलाको अनुसन्धानमा एकअर्कासँग जानकारी लिन सक्नेछन् । भारतमा, गृह मन्त्रालयले एमएलएटी अन्तर्गत जानकारी प्राप्त गर्न वा साझा गर्न सक्छ, जबकि अमेरिकामा, महान्यायाधिवक्तालाई अधिकार छ ।
‘हामीले मुद्दा समाप्त गर्नु अघि कुनै पनि कसर छोड्न चाहँदैनौँ । हामी जान्न चाहन्छौं कि त्यहाँ कुनै मेटाइएको च्याट वा पोष्टहरू छन् जुन यस मामलामा उपयोगी हुन सक्छ,’ एक अधिकारीले नाम न छाप्ने सर्तमा भने ।
यद्यपि, एमएलएटी अन्तर्गत जानकारी प्राप्त गर्न समय लाग्न सक्छ किनकि यो अलि लामो प्रक्रिया हो ।
सुशान्त सिंहको परिवारका वकिल विकास सिंहले सीबीआईको यो कदमको प्रशंसा गरेका छन् । उनले भने, ‘मलाई अचम्म लागेन किनभने सीबीआईले यस मामिलामा विस्तृत अनुसन्धान गर्न चाहन्छ । सुशान्त सिंहको मृत्युको पछाडि धेरै रहस्य छ, किनभने के भयो भनेर कुनै प्रत्यक्षदर्शी वा क्यामेरा छैन । मलाई लाग्छ सीबीआईले खोज्ने प्रयास गरिरहेको छ ।’
सुशान्त सिंहको मृत्युपछि उनका बुबा केके सिंहले सुशान्तकी प्रेमिका रिया चक्रवर्ती र उनको परिवारविरुद्ध पटनामा उजुरी दिएका थिए । उनलाई आत्महत्या गर्न दुरुत्साहन गरेको अभियोग लगाइएको थियो ।
यसअघि मुम्बई प्रहरीले यस विषयमा अनुसन्धान गरिरहेको थियो । तर, अगस्ट २०२० मा, सर्वोच्च अदालतको आदेशमा, अनुसन्धान सीबीआईलाई सुम्पिएकाे छ। लागुऔषध नियन्त्रण ब्यूरोले पनि यस विषयमा विभिन्न पक्षबाट अनुसन्धान गरिरहेको छ ।




