एजेन्सी । नायिका पुनम पाण्डेका श्रीमान् श्याम बम्बेलाई मुम्बई प्रहरीले पक्राउ गरेको छ । स्यामलाई उनकी श्रीमती पुनम पाण्डेले गरेको ऊजुरीको आधारमा पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ ।
पुनमले आफूमाथि कुटपिट गरेको भन्दै स्यामविरुद्ध थानामा ऊजुरी दिएकी छिन् । मुम्बई प्रहरीले दिएको जानकारी अनुसार उजुरी दर्ता गरेपछि पुनम पाण्डे अस्पताल भर्ना भएकी छिन् । प्रहरीलाई उद्धृत गर्दै भारतीय सञ्चार माध्यम एएनआईका अनुसार पुनमको टाउको, आँखा र अनुहारमा गम्भीर चोट लागेको छ । प्रहरीले यो मामिलामा अनुसन्धान गरिरहेको बताएको छ ।
स्याम बम्बेमाथि पुनमले प्रताडित गरेको आरोप लगाएकी छिन् । अघिल्लो वर्ष सेप्टेम्बरमा पनि विवाहको केही दिनपछि नै पुनमले स्याममाथि शोषण र धम्की दिएको आरोप लगाएकी थिइन् । त्यतिबेला उनीहरु गोवामा थिए, जहाँ गोवा अदालतले स्यामलाई सशर्त जमानत दिएको थियो । पुनमले श्रीमानको यस्तो व्यवहारपछि विवाह तोड्ने कुरा गरेकी थिइन् ।
यद्यपि, पछि पुनम र स्यामबीच कुरा मिल्यो र सबैकुरा ठिक भएको उनीहरुले बताएका थिए । तर पुनमको ऊजुरीपछि उनीहरुबीच ठाकठुक जारी भएको अनुमान गर्न सकिन्छ । पुनमका श्रीमान् स्याम एक फिल्म निर्माता हुन् ।




