एजेन्सी । छोरा आर्यन खान जेलबाट छुटेर घर आएपछि शाहरुख खान काममा फर्किएका छन् । आर्यन खान मुम्बई क्रुज ड्रग्स मुद्दामा पक्राउ परेपछि शाहरुख खानले आफ्नो फिल्मका सबै काम राेकेका थिए । तर अहिले छोरा घर फर्किएपछि शाहरुखले राहतको श्वास फेरेका छन् । शाहरुख नोभेम्बर २१ बाट आफ्नो फिल्मको सेटमा फर्किने बताइएको छ ।
सबैभन्दा पहिले शाहरुख खान साउथका निर्देशक एट्लीको फिल्ममा काम गर्नेछन् । यो फिल्ममा उनीसँगै नयनतारा पनि देखिने छिन् । ई-टाइम्सले आफ्नो स्रोतलाई उद्धृत गर्दै भनेको छ, ‘शाहरुख खान काममा फर्कने तयारीमा छन् । शाहरुख नोभेम्बर १५ पछि सेटमा आउँदै छन् ।’
एट्लीको आगामी फिल्म बाहेक शाहरुख खान धेरै प्रोजेक्टमा देखिने भएका छन् । उनीसँग यशराजको फिल्म ‘पठान’ छ । यसमा शाहरुख खानसँग दीपिका पादुकोण, जोन अब्राहम काम गरिरहेका छन् । यसबाहेक शाहरुखले निर्देशक राजकुमार हिरानीसँग पनि फिल्म गर्ने खबर छ । शाहरुख खान आफ्नो फिल्मका अलावा धेरै ठूला प्रोजेक्टमा पनि क्यामियो गरिरहेका छन् । उनी आलिया भट्ट र रणवीर कपूरको फिल्म ‘ब्रह्मास्त्र’, आर माधवनको ‘रकेटरी’ र आमिर खानको फिल्म ‘लाल सिंह चड्ढा’ मा देखिने छन् ।
केही समयअघि नयनताराले एट्लीको फिल्म छोडेको खबर आएको थियो । छोरा आर्यन खानको ड्रग्स केसका कारण शाहरुखले आफ्नो फिल्म र विज्ञापनको सुटिङ गरेका थिएनन् । जसका कारण प्रोडक्सन हाउसले उनका सह-कलाकारहरुको मिति सार्वजनिक गरेको हो । त्यही बेला नयनताराले फिल्म छाड्ने हल्ला सुरु भयो । यो समाचार पछि गलत सावित भयाे ।
एट्ली र शाहरुखको फिल्ममा नयनताराले कमब्याक गरेको खबर आएको छ । यस फिल्ममा नयनतारा एक अनुसन्धान अधिकारीको भूमिकामा देखिने छिन् । उनले शाहरुख बिना फिल्मको सुटिङ पनि गरेको बताइएको छ ।




