एजेन्सी । टी-२० विश्वकपको ‘सुपर आठ’ अन्तर्गत आफ्नो अन्तिम खेलमा भारतले अस्ट्रेलियालाई २४ रनले पराजित गर्दै समूह विजेताका रुपमा सेमिफाइनलमा प्रवेश गरेको छ । समूह ‘एक’ अन्तर्गतको अन्तिम खेलमा जित्नै पर्ने दबाबमा रहेको अस्ट्रेलिया पराजित भएसँगै उसको सेमिफाइनल पुग्ने सम्भावना कमजोर भएको छ ।
भारतले भने अब फाइनल प्रवेशका लागि समूह ‘दुई’को उपविजेता बनेको इंग्ल्यान्डसँग फाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्नेछ । भारत अस्ट्रेलियालाई हराएसँगै पाँचौं पटक टी-२० विश्वकपको सेमिफाइनलमा प्रवेश गर्न सफल भएको हो ।
अब अस्ट्रेलियाको सेमिफाइनल यात्रा बंगलादेशको हातमा पुगेको छ । यदि बंगलादेशले मंगलबार हुने खेलमा अफगानिस्तानलाई पराजित गरेमा मात्र अस्ट्रेलियाको सेमिफाइनल सम्भावना बाँकी रहन्छ । अन्यथा टोली ‘सुपर आठ’बाटै घर फर्किने छ ।
यदि बंगलादेशलाई अफगानिस्तानले पराजित गरेमा अफगानिस्तान समूह उपविजेताका रुपमा सेमिफाइनलमा पुग्नेछ । यी दुई टोलीबिचको खेल मंगलबार विहान ६:१५ मा सुरु हुनेछ ।
सोमबार राति भएको खेलमा भारतले दिएको २ सय ६ रनको लक्ष्य पछ्याएको अस्ट्रेलिया निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ८१ रनमा समेटियो । उसका लागि ट्रेभिस हेडले ७६ रन बनाउनु सर्वाधिक रह्यो । उनी बाहेक कप्तान मिचेल मार्सले ३७ रन बनाउँदा ग्लेन म्याक्सवेल २० रनमा आउट भए ।
त्यस्तै टिम डेभिडले १५ रन बनाएका थिए । भारतका लागि अर्सदीप सिंहले ३ विकेट लिंदा कुलदीप यादवले २ विकेट हात पारे । त्यस्तै, जसप्रित बुमराह र अक्षर पटेलले १/१ विकेट लिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २ सय ५ रन बनाएको थियो । अस्ट्रेलिया विरुद्ध विशाल स्कोर बनाउने क्रममा भारतका लागि कप्तान रोहित शर्माले ९२ रनको विष्फोटक इनिङ खेलेका थिए ।
शर्माले ४१ बलमा ७ चौका र ८ छ्क्का प्रहार गर्दा शिवम् दुवेले २८ रन बनाए । त्यस्तै सुर्यकुमार यादवले ३१ रन बनाउँदा हार्दीक पाण्ड्या २७ रनमा अविजित रहे । अस्ट्रेलियाका लागि मिचेल स्टार्क र मार्कुस स्टोइनिस मँहगो सावित भएपनि २/२ विकेट लिए ।
अब सेमिफाइनल पुग्ने अन्तिम टोलीको टुंगो मंगलबार बिहान हुने बंगलादेश र अफगानिस्तानबिचको खेलबाट लाग्ने छ । यसअघि समूह ‘दुई’ बाट दक्षिण अफ्रिका विजेता र इंग्ल्यान्ड उपविजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ ।




