एजेन्सी । अतुल सुभाष आत्महत्या प्रकरणमा फरार रहेकी अतुलकी पत्नी निकिता सिंघानिया प्रहरीको नियन्त्रणमा आएकी छिन् । प्रहरीका अनुसार निकितालाई गुरुग्रामबाट पक्राउ गरिएको हो भने अतुलका सासु निशा सिंघानिया र साला अनुराग सिंघानियालाई प्रयागराजबाट पक्राउ गरिएको हो । अब यस मामिलामा मुख्य आरोपीका रुपमा रहेका निकिताका काका सुशील मात्र फरार रहेका छन् ।
गुरुग्रामबाट पक्राउ
निकितालाई हरियाणाको गुरुग्राममा लुकेर बसेको अवस्थामा पक्राउ गरिएको हो । यस्तै, अतुलका सासु र सालालाई १४ डिसेम्बरको बिहान इलाहाबादबाट पक्राउ गरिएको छ । तीनै जनालाई बेंगलुरु लगेर अदालतमा प्रस्तुत गरिएको थियो । अदालतले उनीहरूलाई १४ दिनको न्यायिक हिरासतमा पठाएको छ ।
१४ दिनको हिरासत
बेंगलुरु प्रहरीका डीसीपी शिवकुमारका अनुसार निकितालाई गुरुग्रामबाट र निशा तथा अनुरागलाई प्रयागराजबाट पक्राउ गरिएको हो । अदालतले तीनै जनालाई न्यायिक हिरासतमा राख्ने आदेश दिएको छ ।
के छन् आरोपहरू ?
बेंगलुरुस्थित टेक कम्पनीका कर्मचारी अतुल सुभाष आत्महत्या प्रकरणमा उनकी पत्नी निकिता, सासु निशा र साला अनुरागलाई आत्महत्या गर्न उक्साएको आरोप लागेको छ । यसै कारण प्रहरी उनीहरूको खोजीमा दिल्ली एनसीआरदेखि उत्तर प्रदेशसम्म सक्रिय थियो ।
९० मिनेटको भिडियो र सुसाइड नोट
केही दिनअघि, अतुलले आत्महत्या गर्नुअघि ९० मिनेट लामो भिडियो र एक सुसाइड नोट छोडेका थिए । ती सामाग्रीमा उनले पत्नी र उनका परिवारबाट भइरहेको मानसिक यातनाको खुलासा गरेका थिए । आत्महत्या प्रकरणले धेरैलाई स्तब्ध बनाएको छ ।






