काठमाडौं । अभिनेता राजेश हमालले वर्तमान सरकारप्रति असन्तुष्टि व्यक्त गर्दै नेपाली जनताले भाषण र आश्वासनभन्दा बढी जवाफदेहिता, रोजगारी, न्याय र सुशासनको अपेक्षा गरेको बताएका छन् ।
सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै हमालले सरकारको पहिलो १०० दिनको मूल्यांकन घोषणा वा प्रतिबद्धताका आधारमा नभई उसले देखाएको कार्यदिशा र जनताले अनुभूत गरेका उपलब्धिका आधारमा हुनुपर्ने बताएका छन् ।
उनले अन्तर्राष्ट्रिय शक्ति राष्ट्रहरूबीचको रणनीतिक प्रतिस्पर्धाको प्रभाव बढिरहेका बेला नेपालले आफ्नो राष्ट्रिय हितलाई केन्द्रमा राखेर निर्णय गर्नुपर्ने धारणा व्यक्त गरे । सबै देशसँग मित्रवत सम्बन्ध कायम राख्नुपर्ने भए पनि कुनै पनि बाह्य प्रभावका कारण नेपालको सार्वभौमिकता र स्वतन्त्र निर्णय क्षमता कमजोर हुन नहुने उनको भनाइ छ ।
हालै भएका आन्दोलनका क्रममा देखिएको हिंसा र आगजनीप्रति संकेत गर्दै हमालले लोकतान्त्रिक आन्दोलन शान्तिपूर्ण हुनुपर्ने बताए । लोकतान्त्रिक अधिकारको प्रयोग गर्ने नागरिक सम्मानका पात्र भए पनि हिंसा वा आपराधिक गतिविधिमा संलग्न जोसुकैलाई निष्पक्ष रूपमा कानुनी दायरामा ल्याइनुपर्ने उनको धारणा छ ।
उनले राष्ट्रको वास्तविक शक्ति बलियो संस्था, विधिको शासन र राष्ट्रिय हितलाई दलगत राजनीतिभन्दा माथि राख्ने संस्कृतिमा रहेको उल्लेख गरे । देशको भविष्यका लागि विवेक, एकता र राष्ट्रिय हितप्रतिको प्रतिबद्धता आवश्यक रहेको उनको जोड छ ।
यसअघि पनि हमालले विभिन्न समयमा सरकारको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गर्दै आएका छन् । निर्वाचनअघि सार्वजनिक गरेको भिडियो सन्देशमार्फत उनले नयाँ राजनीतिक शक्तिप्रति पनि प्रश्न उठाएका थिए, जसले व्यापक चर्चा र विवादसमेत निम्त्याएको थियो । त्यसयता उनले समय समयमा सरकारका कामकारबाहीबारे सार्वजनिक रूपमा टिप्पणी गर्दै आएका छन् ।






